नेभिगेशन
पूर्वाधार

पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

काठमाडौँ– आगामी पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थलको व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरु उत्साहित देखिएका हुन् । वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । 

 

कम्पनीहरुले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायु सेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवा सुविधाहरु रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरुले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए ।

 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको पनि बताए । उनले आन्तरिक रुपमा उडान गर्ने यात्रुहरुले अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने बताए । प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा उडान रद्ध हुने समस्या हट्ने बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभइ नेपालको पर्यटनमा कोषेढुङ्गा सावित हुने दाबी गरे ।

 

उनले यति एयरलाइन्सले विमानस्थल सञ्चालनमा आएसँगै १० उडान थप्ने तालिका तयार पारेको पनि बताए । उनले पोखराबाट अन्य विमानस्थलहरुमा आन्तरिक उडान गर्नसक्ने सम्भावना रहेको भन्दै एयरलाइन्सले पोखरा–भैरहवा–भरतपुर–सिमरा–नेपालगञ्ज–विराटनगर र जनकपुर उडान गर्ने बताए । उनले यति एयरलाइन्सले पोखरालाई बेस बनाएर एउटा जहाज पोखरामा नै राख्ने तयारी गरेको बताए । प्रवक्ता बर्तौलाले पोखराबाट दक्षिण एशियाली मुलुक र दक्षिणपूर्वी मुलुकहरुमा चार्टर उडान भर्ने योजना बनाएको समेत जानकारी दिए । उनले पोखराबाट हुने उडानको भाडा तत्काल वृद्धि नहुने बताए ।

 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टाढा भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थालमा हुने सडक र ट्राफिक समस्या सरकारले तत्काल हल गर्नुपर्ने बताए । 
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पूर्वाधार