विमानस्थल सञ्चालनमा आउने भएसँगै वायुसेवा कम्पनीहरू उत्साहित
पोखरा–पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् । विमानस्थलमा आइतबार (जनवरी १) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरू उत्साहित देखिएका हुन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।
उनीहरूले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवासुविधा रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको पनि बताए ।
प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा उडान रद्ध हुने समस्या हट्ने बताए । विमानस्थल सञ्चालनमा आएसँगै यति एयरलाइन्सले १० उडान थप्ने तालिका तयार पारेको पनि उनले बताए ।
त्यस्तै,बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताए । उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताए ।