Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू–१९ एसिया कप क्वालिफायरका लागि सुदूरपश्चिमका ७ खेलाडी छनोट

शुक्रबार, पुस १५, २०७९

बैतडी–आइसिसी यू १९ एसिया कप क्वालिफायर डिभिजन १ छनोटका लागि नेपाल क्रिकेट संघले २८ खेलाडीलाई छनोट गरेको छ । २ महिनापछि युएईमा हुने छनोटका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । बन्द प्रशिक्षण मंगलबारदेखि काठमाडौँंमा शुरु हुने क्यानले जनाएको छ ।


छनोट भएका २८ खेलाडीमध्ये सातजना सुदूरपश्चिमका छन् । अनुराग सिंह, दीपक बोहरा ए, दीपक बोहरा बी, हेमन्त धामी, आकाश चन्द, मिलन बोहरा र नरेन साउद सुदूरको टोलीबाट छनोट भएका हुन् ।


गत मंसिरमा काठमाडौँमा सम्पन्न वाईवाई यू–१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा खेलाडी छनोट गरिएको हो । उक्त यू १९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम च्याम्पियन बनेको थियो ।


छनोट भएका खेलाडीहरूमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, अनुराग सिंह, मिलन बोहरा, गोविन्द विक, योगेश भाट, प्रतीक श्रेष्ठ, दीपक बोहरा, दीपेश कँडेल, निर्मल गुरुङ, सुवास भण्डारी, नरेन साउद र हेमन्त धामी रहेका छन् ।


यसैगरी आकाश चन्द, दुर्गेश गुप्ता, राकेश यादव, गुलसन झा, सक्रिय कार्की, विपीन महतो, दीपक डुम्रे, प्रज्वल थापा, मयन यादव, विशालविक्रम केसी, युनिससिंह ठकुरी, दीपक बोहरा, देव खनाल र तिलकराज भण्डारी पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।


नेपालले फेब्रुअरीमा युएईमा गएर एसिया डिभिजन १ खेल्नेछ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्