...अनि नांगै घर पुगे ‘कालो मोती’
‘कालो मोती’ ब्राजिलका नागरिकको मन छुने फिल्म हो । ‘फुटबल देवताको पूर्ण कथा र ब्राजिल फुटबलको राजा हो’ भन्ने विषय यो फिल्ममा प्रस्तुत गरिएको थियो ।
पेलेको जीवनीका तथ्यहरू, अनटोल्ड चाइल्डहुड स्टोरी ‘कालो मोती’मा छ भने उनको बाल्यकालदेखि सुपर स्टारडम हासिल गरेको क्षणसम्मका उल्लेखनीय घटनाहरू समावेश छन् ।
सानो केटो झुम्रोको बल लिएर उखुबारीको बीचबाट निस्किएर बल दौडाउँदै हुन्छ । त्यो सानो केटो थिए– पेले । तिनै पेलेले आफू ४० वर्षको हुँदा आफ्नो बारेमा बनेको कालो मोती ‘राम्ररी’ हेरेको बिबिसी रेडियोसँगको अन्तर्वार्तामा बताएका थिए ।
पेलेले पहिलो पटक कालो मोती फिल्मलाई नियालेर नहेरेको धेरै अन्तर्वार्तामा बताएका छन् । उनले ४० वर्षपछि आफैँले फिल्ममा अभिनय गर्न थालेपछि मात्र राम्ररी फिल्म हेरेको बताएका थिए ।
यो फिल्ममा पेलेको व्यक्तिगत जीवन भन्दा पनि उनको खेल जीवनका कष्ट देखाइएको छ । ‘कालो मोती’ का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । उनलाई फिल्म क्षेत्रमा ‘ब्ल्याक डाइमन्ड’ भनेर पनि चिनिन्छ ।
पेलेको आत्मकथा ‘माई लाइफ एन्ड द ब्युटिफुल गेम’सँग पनि अनौठो प्रसंग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भिड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएको त्यस भिडका प्रत्येक सदस्य पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थे ।
ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको पार्टपुर्जासमेत बाँकी राखेनन् । र, त्यस दिन पेले लगभग नांगै हिँडेर घर पुगेका थिए ।
त्यसको ५ महिनापछि पुस्तक सार्वजनिक हुँदा एउटा हलमा ३ हजार प्रहरी उनको सुरक्षाका लागि खटाइएको ब्राजिलको स्पोर्टस् स्टारमा पत्रिकामा उल्लेख छ ।
१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए ।
तीमध्ये ३ पटकको संस्करण ब्राजिल आफैँले जितेको थियो । आफ्नो खेल जीवनमा उनले १ हजार ३६३ खेल खेल्दै एक हजार २८१ गोल गरेका छन्, जसमा धेरैजसो उनले घरेलु क्लब सान्टोसका लागि गरेका हुन् ।
पेलेले कुनै समय भारत भ्रमणसमेत गरेका थिए । राष्ट्रिय टोलीबाट संन्यास लिएपछि पेले अमेरिकाको कसमस क्लबबाट खेल्न जाने क्रममा भारतको कोलकाता पुग्दा त्यहाँ ठुलो भिड जम्मा भएको थियो ।
उनलाई हेर्न र भेट्न मात्र पनि हजारौँ प्रशंसकले आधा रातभन्दा धेरै समय बिताएका थिए । त्यसका लागि प्रशंसकहरू कोलकाताको दमदम विमानस्थल र बाटोको दुवैतिर लामबद्ध भई घन्टौँ उभिएका थिए ।
त्यतिबेला भारतमा ११ घन्टा सडकमा सवारी जाम भएको भारतीय मिडियाहरूले बताएका छन् ।
अमेरिकाको पहिलो व्यावसायिक फुटबल लिगपश्चात् सन् १९७७ मा पेलेले फुटबल खेल जीवनबाट संन्यास लिएको घोषणा गरेका थिए ।
खेल जीवनमा होस् अथवा संन्यास लिएपछि, पेलेले ब्राजिलमा रंगभेदविरुद्ध भएका औपचारिक प्रयासहरूमा सक्रिय संलग्न सामाजिक अभियानको रूपमा काम गरे ।
सन् २०१४ मा ब्राजिलयन च्याम्पियनसिप खेलमा भएको जातीय दुव्र्यवहारको घटनालाई सामान्य बनाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो ।
नेटफ्लिक्सको वृत्तचित्रमा पेलेले ‘निकै धेरैसँग सम्बन्ध रहेका कारण कति छोराछोरी छन् आफूलाई थाहा नभएको बताएको’ रिपोर्ट तयार पारेको थियो । उक्त रिपोर्टको उनले स्वीकारसमेत गरेका थिए ।
त्यस्तै, सन् १९६० को दशकमा प्रेम सम्बन्धपछि जन्म भएकी छोरी सान्ड्रालाई स्वीकार गर्नबाट उनी पन्छिएपछि उनको व्यक्तित्वका बारेमा युरोप र अफ्रिकी देशमा खुबै आलोचना भएको नेटफ्लिक्सको वृत्तचित्रमा उल्लेख छ ।
मानिस प्रसिद्ध भएपछि उसका सम्बन्धमा कथा, उपकथा र क्रमशः किंवदन्तीहरू जन्मिँदै, फिँजिँदै जान्छन् । तर, केही त्यस्ता वास्तविक प्रसंगहरू छन्, जसले पेलेलाई साँचो अर्थमा फुटबलका किंवदन्ती बनाएको छ । उनले ब्राजिलको मात्र होइन, विश्व फुटबलको इतिहास बनेर संसारबाट बिदा भएका छन् ।
साओ पाउलोस्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा मृत्यु भएको हो । करिब १ महिनादेखि अस्पताल भर्ना भएर पेले उपचाररत थिए ।
-एजेन्सीकाे सहयाेगमा