नेभिगेशन
जीवनयापन

सिजनल फ्लुका लक्षण र बच्ने उपाय

काठमाडौँ– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिजनल फ्लुका बिरामीको संख्या बढेको छ ।


जाडो बढेसँगै हाल अस्पतालमा फ्लुका बिरामीहरू आउन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । फ्लुका लक्षणसहितका बिरामीहरू उपचारका लागि आउन थालेको पुनले बताए । 


उनले भने, ‘ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने समस्या लिएर बिरामीहरू आउन थालेका छन् ।’


त्यस्तै चिसोमा स्वस्थ व्यक्तिलाई गाह्रो नबनाए पनि दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र बालबालिकालाई सिजनल फ्लुले हेलचेक्रयाइँ गर्दा जटिल बनाउन सक्ने उनले बताए । यस्तो अवस्थामा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र पर्याप्त आराम गरे सिजनल फ्लुबाट बच्न सकिने डा. पुनको सुझाव छ । 

 

के हो सिजनल फ्लु ?


सिजनल फ्लु अथवा मौसमी रुघाखोकी भनेको इन्फ्लुएन्जा भाइरसबाट लाग्ने संक्रामक रोग हो । इन्फ्लुन्जा भाइरस ए, बी, सी र डी गरेर ४ प्रकारको हुन्छ । इन्फ्लुन्जा भाइरसका ४ प्रकारमध्ये ए र बी भाइरसले मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ ।


लक्षण

  • ज्वरो आउने (१००.४ डिग्री फरेनहाइटभन्दा बढी)
  • टाउको दुख्ने
  • घाँटी दुख्ने
  • रुघाखोकी लाग्ने
  • सास फेर्न गाह्रो हुने
  • बच्चाहरूलाई झाडापखाला लाग्ने


बच्ने उपाय

  • खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने 
  • साबुन पानीले मिची मिची हात धुने 
  • पोसिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने 
  • ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोरदोहोर हुने कोठामा आराम गर्ने 
  • अनावश्यक रूपमा मानिसहरूको भीडभाड भएको ठाउँमा नजाने 
  • ज्वरो रुघाखोकी लागेका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाने 
  • शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने
  • आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलगाउने 
  • सकभर अरू व्यक्तिसँग हात नमिलाउने, नमस्कार गर्ने 
  • अरूले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने 
  • नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै