Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी संस्थाहरु समस्यामा’

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् ।

 

शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए । यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उनले आरोप लगाए ।

 

‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधानतर्फ किन लाग्दैनौं ? समस्या सल्टाउन अभियान नै लागि परेको छैन,’ रजिस्ट्रार पण्डितले भने ।

 

तरलता अभावकाबीच सहकारी संघ÷संस्थाहरुले सदस्यहरुको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशतभन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढेको बताए । त्यस्तो अवस्था सिर्जना भएपछि विभागले निर्देशन नै जारी गर्नुपरेको उनको भनाई छ ।

 

सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्तीय संस्थाको भएको बताए । राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाई छ ।

 

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आफ्नो १२औं वार्षिक साधारणसभामा अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रयास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गर्दै संस्थाको आगामी कार्य रणनीति तथा कार्यक्रमहरु समेत पारित गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्