के हो कोल्ड डाईरिया ?
काठमाडौँ । चिसो बढेसँगै विभिन्न अस्पताल तथा क्लिनिकमा पछिल्लो समय कोल्ड डाईरियाका बिरामीको चाप बढ्दै गएको छ । जनस्वास्थ्यविद् अरुणा उप्रेतीका अनुसार विशेष गरी चिसो मौसममा यस्तो समस्या देखा पर्ने गर्दछ । चिसोमा बालबालिकाहरुमा देखा पर्ने समस्याहरु मध्ये यो पनि एक हो ।
कोल्ड डायरिया के हो ?
चिसो मौसम बढेसँगै केही रोटा भाईरस, नोरो भाईरस र एस्ट्रो भाईरस अलि बढी सक्रिय हुने गर्छ । यी भाईरसहरुले गर्दा चिसोमा बच्चाहरुमा देखिने बान्ता र पखालाको समस्या नै कोल्ड डायरिया हो ।
यसका लक्षणहरु
प्रायः ५ वर्ष मुनिका बच्चाहरुलाई श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ । जस्तै रुघा, खोकी, हाच्छ्यु तथा नाकबाट सिंगान बग्ने गर्छ । त्यसपछि बान्ता गर्न थाल्दछन् र त्यसको २४ देखि ४८ घन्टाभित्र पातलो दिसा हुनेगर्छ । केहीमा हल्का ज्वरो पनि आउन सक्छ । त्यसकारण शरीरमा पानीको मात्रामा कमी भएर जलवियोजन हुने, रगतमा इलेक्ट्रोलाइटमा गडबड भई ज्यान समेत जान सक्छ ।
उपचार कसरी गर्ने
चिकित्सकको सल्लाह अनुसार सरसफाइमा ध्यान दिने, प्रशस्तै मात्रामा झोलिलो कुरा लगायत जीवनजल खुवाउनु पर्छ । सबै बान्ता पखालाको कारण भाईरस मात्रै नभएर ब्याक्टेरिया, परजिवी वा एन्टीबायोटिक आफै पनि हुन सक्छन । त्यसैले बिरामीको उमेर, लक्षण, शारीरिक अवस्था तथा रगत, दिसा र पिसाब लगायतको परीक्षण गरे पश्चात चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्नुपर्छ ।