निर्मला पन्त घटनाकाे अनुसन्धान गर्न छानबिन समिति
काठमाडौँ– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको पुनः अनुसन्धान हुने भएको छ । त्यसका लागि शुक्रबार गृहमन्त्री रवि लामिछानेले घटनालाई नयाँ तरिकाले अनुसन्धान अघि बढाउन आग्रह गरेका थिए ।
फलस्वरूप,नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआइजी) पूजा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए ।
डिआइजी सिंह अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत छिन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा यस घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।
गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् ।
उनीहरूलाई यस घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।
२०७५ साल साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म त्यस घटनाका दोषी पत्ता लाग्न सकेको छैनन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।