Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोरखाका ४४ स्वास्थ्य संस्था किशोर किशोरीमैत्री बन्दै

शनिबार, पुस १६, २०७९

गोरखा–गोरखाका ४४ वटा स्वास्थ्य संस्थाले किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रवाह गर्ने भएका छन् । नेपाल सरकारको कार्यक्रम अन्तर्गत ११ वटै पालिकाका ४÷४ वटा स्वास्थ्य संस्थालाई सेवा प्रवाहको हिसाबले किशोर किशोरीमैत्री बनाइने भएको हो ।


कार्यक्रमको पूर्व तयारी अन्तर्गत सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई २ दिने अभिमुखीकरण गरिएको छ । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका ९ वटा मापदण्ड र ४५ वटा आधारमध्ये कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेको हुनुपर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।


१० देखि १९ वर्षसम्मका किशोर किशोरीका लागि स्वास्थ्य परामर्श दिन अलग्गै कोठाको व्यवस्था भएको, परिवार नियोजनका साधनमा उनीहरूको सहज पहुँच भएको, किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी भएको, गोपनीयताको आधारमा सेवा दिने कुराको सुनिश्चितता भएको स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिने खड्काको भनाइ छ ।


किशोरावस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा नपाएकै कारण किशोर किशोरीमा विभिन्न समस्या देखिने भएकाले किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाको अवधारणा आएको उनले बताए । यौन तथा प्रजनन स्वास्थ्यका विविध स्वास्थ्य सेवा दिने उद्देश्यसहित सरकारले किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणा ल्याएको हो । त्यही अवधारणा अनुसार उनीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो होस् भनेर किशोरी किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


किशोर–किशोरीमैत्री सूचीकृत भएपछि सेवाको गुणस्तर र दिगोपनाको आधारमा स्वास्थ्य सेवा विभागले प्रमाणीकरण गर्ने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । प्रमाणीकरण भएको ५ वर्षपछि पुनः मापदण्ड मूल्याङ्कन गरेर प्रमाणीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।


प्रमाणीकरणका लागि किशोर–किशोरीहरुको आवश्यकता अनुसारका स्वास्थ्य सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीहरूका लागि प्रभावकारी सेवा प्रवाह भएको हुनुपर्ने, किशोर–किशोरीले सेवा लिने उपयुक्त वातावरण भएको हुनुपर्ने, किशोर–किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान दिन सक्षम भएको हुनुपर्ने व्यवस्था रहेको छ ।


गोरखाका पालिकाहरूका कुन कुन स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री बनाउने भन्ने तय गर्न बाँकी रहेको छ । दोस्रो चरणमा पालिकाका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गरेर सम्भावित ४ वटा स्वास्थ्य संस्था छनोट गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।


त्यसपछि ती स्वास्थ्य संस्थाका कम्तीमा १ महिला र १ पुरुष स्वास्थ्यकर्मीलाई किशोर किशोरीमैत्री सेवा प्रवाहको तौरतरीका सिकाइने छ । सूचीकृत भएका स्वास्थ्य संस्थाको

सेवा प्रवाहबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले अनुगमन गरे पनि किशोर किशोरीमैत्री प्रमाणीकरण गरिनेछ ।
पहिलो चरणमा सबै पालिकाका ४/४ वटा स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाइने र क्रमैसँग अन्य स्वास्थ्य संस्था थप गर्दै जाने सरकारको लक्ष्य रहेको खड्काले बताए । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकामा ससर्त अनुदानतर्फ बजेट पठाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्