पाेखरा विमानस्थलकाे उद्घाटन भाेलि, अन्तर्राष्ट्रिय उडान अनिश्चित
पाेखरा- निर्माण सम्पन्न भएकाे पाेखरा अन्तराष्ट्रिय विमानस्थलकाे भाेलि आइतबार उद्घाटन गरिने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दै छ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ ।
अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आए पनि अन्ततः उडान नहुने भएको छ । बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन ।
‘हामीले राम्रो खेलौना बनाएर बजारमा बेच्न राखेका छौँ । त्यो खेलौना कुन दिन बिक्री हुन्छ थाहा छैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘यो एयरपोर्टबाट नेपालकै समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।’
एयरपोर्टबाट वार्षिक ५० करोडभन्दा बढी आम्दानी हुने उनले बताए । ‘पुरानो एयरपोर्टले नेट २५ करोड वार्षिक आम्दानी गरेको छ । यो एयरपोर्टबाट ५० करोड आम्दानी हुने अनुमान छ,’ उनले भने, ‘अझै पर्यटक बढे १ अर्बसम्म हुन सक्छ ।’
उद्घाटनका बेला अन्तराष्ट्रिय उडान नहुने भएपछि पोखरेलीहरू निराश भएका छन् । मेयर धनराज आचार्य भने विमानस्थल उद्घाटन नै उत्सव भएको बताउँछन् ।
‘पोखराको लागि यो उत्सव हो । हामीले सार्वजनिक बिदा नै दिएर उद्घाटनमा नागरिक र कर्मचारीलाई सहभागी गराउँदै छौँ,’ उनले भने, ‘विमानस्थल चल्न थालेपछि पोखरा विकासको ढोका खुल्छ । ५० वर्ष पुरानो पोखराको सपना अहिले पूरा हुनु खुसीको कुरा हो ।’
२०३२ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । तत्कालीन समयमा ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
पछि ६२९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्ब लगानीमा विमानस्थल निर्माण गरिएको हो ।
विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकममध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ ।
२ हजार ५०० मिटर लामाे रनवे भएको पोखरा विमानस्थलमा एयर बस ३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तव्यमा उडान भर्ने योजना प्राधिकरणको छ ।