Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोदीले आमालाई आफूसँगै किन राखेनन् ?

शनिबार, पुस १६, २०७९

काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई उनी बस्दै आएको गुजरात राज्यस्थित अस्पतालमा भर्ना गरिएको थियो ।


मोदीले ट्वीट लेख्दै आफ्नी आमामा ‘निष्काम कर्मयोगीको प्रतीक तथा मूल्यप्रति प्रतिबद्ध जीवन समाहित’ रहेको आफूले पाएको लेखेका छन् ।

 


भारतीय प्रधानमन्त्री महत्वपूर्ण पर्व र उत्सवहरूमा आमाको आशीर्वाद लिन गृहराज्य गुजरात जाने गर्थे । आमाको जीवन र सङ्घर्षले आफ्नो मस्तिष्क, व्यक्तित्व र आत्मविश्वास निर्माण गरेको भनेर उनले ९९ औँ जन्मदिनका दिन गत जुन महिनामा ट्वीट लेखेका थिए । ‘मेरी आमा जति सामान्य हुनुहुन्छ उत्ति नै अभूतपूर्व पनि, अन्य आमाहरूजस्तै’, उनले लेखेका थिए ।


पछिल्लो पटक मोदी आफ्नी आमासँग डिसेम्बर ४ तारिखमा सार्वजनिक रूपमा देखिएका थिए, जतिबेला गुजरातमा विधानसभाको चुनाव भइरहेको थियो ।


हीराबाको जन्म सन् १९२३ मा गुजरातको मेहसाना जिल्लास्थित विसनगरमा भएको थियो । ‘आमाको बाल्यकाल गरिबी र अभावमा बितेको थियो’, मोदीले लेखेका थिए ।


किशोरी हुँदा उनको विवाह दामोदरदास मुलचन्द मोदीसँग भएको थियो र उनी केही किलोमिटर टाढा पर्ने वदनगरमा विवाह गरेर गएकी थिइन् । ‘वदनगरमा हाम्रो परिवार एउटा सानो घरमा बस्ने गथ्र्यो, जुन घरमा झ्याल पनि थिएन, शौचालय वा स्नानघरको त कुरै छोडौँ’, मोदीले आफ्नो ब्लगमा लेखेका थिए ।


मोदीले आफ्नी आमालाई समयनिष्ठ, स्वच्छ र परिश्रमी भनी व्याख्या गरेका छन् । ‘काम गर्दा उहाँ आफ्नो मन पर्ने भजन गाउनुहुन्थ्यो’, उनले लेखेका छन् ।


हीराबा सार्वजनिक कार्यक्रममा सहभागी हुन्न थिइन् । मोदीले सन् २००१ मा आफूले गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिँदा मात्रै आमा आफूसँगै कार्यक्रममा रहेको र त्यसयता कहिल्यै पनि सार्वजनिक कार्यक्रममा आफूसँग नआएको बताएका छन् ।
सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री बने पनि हीराबाले त्यसको दुई वर्षपछि मात्रै दिल्लीमा छोरालाई भेटेकी थिइन् । मोदीले आफ्नो सरकारी निवास देखाउँदै गर्दाको तस्बिर ट्वीट गरेका थिए ।


हीराबा गुजरातस्थित आफ्ना अर्का छोरा र उनको परिवारसँग बस्ने गर्थिन् । मोदीले आफ्नी आमालाई आफूसँगै किन राख्दैनन् भनेर विपक्षी पार्टीले पटकपटक प्रश्न उठाउने गरेको थियो ।


गुजरातको मुख्यमन्त्री हुँदा पनि मोदीकी आमा मुख्यमन्त्री निवासबाट केवल तीन–चार किलोमिटर टाढा रहेको आफ्नो अर्का छोरा पङ्कज मोदीको घरमा बस्थिन् । मोदी प्रधानमन्त्री बनेपछि पनि हीराबा पङ्कजसँगै बस्ने गर्थिन् ।


सन् २०१७ को कुरा हो । मोदी आफ्नी आमालाई भेट्न गुजरातस्थित गान्धीनगर गएका थिए । मोदीले ट्वीट गरेर आफूले योग गर्न छोडेर आमालाई भेट्न गएको र बिहानी खानासँगै खाएको बताएका थिए ।


दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले नरेन्द्र मोदीले आमालाई सँगै किन राख्दैनन् भनेर प्रश्न गरेका थिए । ट्वीट गर्दै केजरीवालले लेखेका थिए, ‘म आफ्नी आमासँगै बस्छु । सधैँ उनको आशीर्वाद लिन्छु । तर त्यसबारे भन्दै हिँड्दिनँ । म राजनीतिका लागि आफ्नी आमालाई ब्याङ्कको लाइनमा पनि राख्दिनँ ।’


मोदी सरकारले ५०० र १,००० का नोटहरूमाथि प्रतिबन्ध लगाउने विवादास्पद निर्णय गरेपछि लाखौँ मानिसजस्तै पुरानो नोट साट्न ब्याङ्क जाने लाखौँ भारतीयमध्ये हीराबेन पनि रहेको फोटो त्यतिबेला सार्वजनिक भएको थियो ।


केजरीवालसहित अन्य थुप्रैले मोदीमाथि आफ्नो राजनीतिक लाभका लागि आमासँगको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राख्ने गरेको भन्ने आरोप लगाउने गरेका थिए ।


हीराबाले प्रधानमन्त्री बनेका छोरासँग किन नबसेको भनेर कहिल्यै बताइनन् । तर मोदी आफैँले भने त्यसबारे चर्चा गरेका थिए । सन् २०१९ मा अभिनेता अक्षय कुमारसँगको गैरराजनीतिक विषयमा गरिएको एउटा कुराकानीमा उनले यसबारे चर्चा गरेका थिए ।


मोदीले आफूले सानै उमेरमा घर छोडेको र आफ्नो जीवन एकदमै फरक रहेको बताएका थिए ।  कुराकानीमा मोदीले भनेका थिए, ‘म प्रधानमन्त्री बनेर घरबाट निस्किएको भए सबै मैसँग बसून् भन्ने चाहन्थेँ । तर सानै उमेरमा घर छोडेका कारण परिवारप्रति लगाव, मायामोह यी सबै छुटे। मेरी आमा म तेरो घरमा बसेर के गरौँला, तँसँग के कुरा गरौँला भन्नुहुन्छ ।’

बीबीसीबाट

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्