भारतमा किन रोकियो पाकिस्तानी फिल्मको प्रदर्शन ?
काठमाडौँ–पाकिस्तानमा व्यावसायिक रूपमा सफल भएको चलचित्र ‘द लिजेन्ड अफ मौला जट’को भारतमा प्रदर्शन रद्द भएको छ ।
पाकिस्तानको यो एक्सनप्रधान चलचित्र ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका फिल्म हलमा रिलिज हुने बताइएको थियो । उक्त चलचित्रको प्रदर्शन रद्द हुनुको कारण भने खुलाइएको छैन ।
समाचार एजेन्सी पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आइनक्सका एक कर्मचारीलाई यसको कारण सोधेको जनाएको छ । ती कर्मचारीले पीटीआईसँग भने, ‘हामीलाई चलचित्रका वितरकहरूले प्रदर्शन स्थगित गरिएको बताए। हामीलाई दुई–तीन दिनअघि यसबारे जानकारी गराइएको थियो। यसको कारण भने खुलाइएको छैन र प्रदर्शन हुने अर्को मिति पनि दिइएको छैन ।’
डिसेम्बर २६ मा आइनक्स सिनेमा समूहका प्रमुख प्रोग्रामिङ अफिसर राजेन्द्र सिंह जेयालाले ‘मौला जट’ ठूलो सङ्ख्यामा पञ्जाबी बोल्ने मानिसहरू आउने सिनेमा हलहरूमा प्रदर्शन गरिने बताएका थिए ।
उनको घोषणापछि भारतमा उक्त चलचित्रको प्रतिक्षा भइरहेको थियो । उक्त चलचित्रको प्रचार गर्न बनाइएको पोस्टर पनि ’बुक माई शो’ जस्ता प्लेटफर्महरूमा देखा परिसकेको छ ।
यसै साताको सुरुमा पीभीआर सिनेमा समूहले आफ्नो इन्स्टाग्राम पेजमा मौला जटको प्रदर्शन मिति सार्वजनिक गरेको थियो तर पोस्ट एक वा दुई दिनभित्र मेटाइएको थियो ।
केही अन्य समाचारमा भने भारतीय सेन्सर बोर्डले फिल्म प्रदर्शनको अनुमति फिर्ता लिएको बताइएको छ । यद्यपि यसबारे बोर्डबाट केही भनिएको छैन । बोर्डको वेबसाइटमा यसबारे केही जानकारी पनि दिइएको छैन ।
भारतमा सिनेमा हलमा चलचित्र प्रदर्शनको घोषणा सामान्यतः सेन्सर बोर्डबाट चलचित्र प्रदर्शनको अनुमति लिएपछि मात्र गरिन्छ । चलचित्र प्रदर्शनको मिति घोषणा भएपछि वितरकले एक्कासि स्थगित गर्ने निर्णय गरेका नहुन सक्छन् ।
‘मौला जट’ भारतका सिनेमा हलमा प्रदर्शन भएको भए सन् २०११ मा ‘बोल’ पछि सिनेमा हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो ।
भारतमा ’मौला जट’ को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ । प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन । फिल्म निर्माण र वितरण बाहेक जी समूहले भारतमा धेरैवटा टेलिभिजन च्यानलहरू पनि सञ्चालन गर्छ । यो समूहले केही वर्षअघि भारतमा एउटा च्यानल खोलेको थियो । त्यसमा पाकिस्तानका लोकप्रिय टेलीश्रृङ्खलाहरू देखाइन्छ ।
उक्त च्यानल चाँडै लोकप्रिय भएको थियो । कुनै बेला जी समूहले पाकिस्तानी फिल्म निर्माता र कलाकारहरूसँग मिलेर फिल्म बनाउने योजना पनि बनाएको थियो ।
‘मौला जट’का मुख्य अभिनेता फवाद खान र अभिनेत्री माहिरा खान पनि बलिउडका चर्चित कलाकार हुन् । माहिराले सन् २०१७ मा शाहरुख खानको चलचित्र ‘रईस’ मा काम गरेकी थिइन् । उक्त चलचित्रपछि उनी भारतमा निकै चर्चित भइन् ।
फवादले बलिउडका धेरै चर्चित चलचित्रमा काम गरेका छन् । सन् २०१६ को उरी हमलापछि इन्डियन मोसन पिक्चर्स एसोसिएसनले पाकिस्तानी कलाकार र गायकहरूलाई भारतीय फिल्ममा काम गर्न प्रतिबन्ध लगाएको थियो ।
महाराष्ट्र राज्यमा शिवसेना र महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई काम गर्न नदिने र पाकिस्तानी कलाकारले अभिनय गरेको चलचित्र प्रदर्शन गर्न नदिने धम्की पनि दिएका थिए । केही भारतीय समाचारहरूमा केही मानिसहरूले मौला जटको पनि आलोचना गरिरहेका छन् ।
त्यसको कारणका रूपमा चलचित्रका अर्का अभिनेता हमजा अली अब्बासलाई उनीहरूले हाफिज सइदका समर्थक भएको आरोप लगाएका छन् । भारतले हाफिज सइदलाई मुम्बईमा भएका आतङ्ककारी हमलाको मुख्य षड्यन्त्रकारी मान्दै आएको छ ।