कम्बोडियाको क्यासिसनोमा भएको आगलागी विद्युत्तीय खराबीका कारण भएको पुष्टि
एजेन्सी– कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ ।
थाइल्यान्डको सीमा नजिकै रहेको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन रहेको क्यासिनो–होटल परिसरमा फैलिएको आगलागीमा समयमै उद्धार गर्न नसक्दा मानिसहरू आगोबाट बच्नका लागि किनारा र झ्यालबाट हामफाल्न बाध्य भएको उद्धारकर्मीहरूले बताएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन समितिका उपाध्यक्ष कुन किमले आगलागीको कारण ‘विद्युत् चुहावट’ भएर दुर्घटना भएको बताए ।आगलागीमा परी १७ जना थाइल्याण्डबासी, एक जना मलेसियाली र एक जना नेपाली गरी २६ जनाको मृत्यु भएको उनले पुष्टि गरे ।
उनले भने, “केही मानिस जलेर, केही अक्सिजनको अभावमा र केही बाहिर निस्कने बाटोमै धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।”
होटल–क्यासिनोको जटिल लेआउट र उद्धार उपकरणको अभावका कारण अधिकारीहरूले आगो निभाउन निकै लामो समय लागेको उनले बताए । कम्बोडियाका आपतकालीन टोलीले शुक्रबार साँझ रात परेपछि आफ्नो उद्धार प्रयास अन्त्य गरिएको बताउँदै किमले भने, टोलीले परिसरको सबै भागमा खोजी गरेको थियो ।
आफ्नो उपनाम मात्र दिएका ४२ वर्षीय थाई क्यासिनो कामदार नेउङले दुई महिलालाई भाग्न सहयोग गरेपछि होटलको कोठामा आफ्नो बुबाको मृत्यु भएको बताए । उनले भने, “उनीहरूलाई सहयोग गर्न उहाँले धेरै ऊर्जा प्रयोग गर्नुभयो तर आफू भने धुवाँले निस्सासिएर बित्नुभयो ।”
उनले एएफपीसँगको कुराकानीमा भने, ुअब म उहाँको शवको प्रतीक्षामा मात्र रहेको छु । घाइतेमध्ये धेरैको थाई अस्पताल र चिकित्सकहरूले उपचार गरेका थिए । थाई नागरिकहरूले कम्बोडियाली आपतकालीन टोलीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरेका थिए ।
थाइल्याण्डका अधिकारीहरूले शुक्रबार ५० जनाभन्दा बढीलाई अस्पताल भर्ना गरिएको र १३ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । कम्बोडियाली अधिकारीहरूले होटल मालिकहरूविरुद्ध मुद्दा लगाउने विषयमा छलफल भइरहेको बताएका छन् ।