पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने
काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थल सञ्चालनकाे देशबाहिरसमेत सन्देश दिन अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्दै छन् ।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेशभूषासहितको र्यालीको आयोजना गरिने जनाएको छ ।
त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख धनराज आचार्यले बताए ।
अर्का परिकल्पनाकार इन्जिनियर पदमबहादुर खत्री देशबाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरूलाई महानगरका तर्फबाट नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकामा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए ।
निर्देशक गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घन्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले जानकारी दिए ।
मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक २ प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ ।
२०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक ३ हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको ४ दशकपछि निर्माण प्रक्रिया सुरु भएको हो ।