Nic Ad Nic Ad
Nic Ad Nic Ad

एउटै पालिकाबाट ६ जना प्रदेश सांसद

आइतबार, पुस १७, २०७९

काठमाडौँ– महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र २ पुरुष छन् । 

 

जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित भएका हुन् ।

 

मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेका अनुसार निर्वाचित सबै ६, ७ र ८ नम्बर वडाका स्थायी बासिन्दा हुन् । १० वडा रहेको मनरासिसवा क्षेत्र- ४ (२) अन्तर्गतको पालिका हो । तर यसको वडा ८, ९ र १० क्षेत्र- ३ (२) मा पनि पर्छ । 

 

प्रत्यक्षतर्फबाट मनरासिसवा ८ सहसरामकी रानी कुमारी तिवारीले क्षेत्र- ३ (२) बाट र वडा- ७ सरपल्लोका सरोजकुमार सिंह क्षेत्र- ४ (२) बाट निर्वाचित भएका हुन् । तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा सिंह जनता समाजवादी पार्टी (जसपा)सँग आबद्ध छन् ।

 

त्यस्तै समानुपातिकतर्फ मनरासिसवा वडा- ६ सरपल्लोकी रमिता प्रधान लोसपाबाट, वडा- ७ सरपल्लोकै अनिता साह र वडा- ८ सहसरामका चन्दन सिंह जनमत पार्टीबाट, तथा वडा- ८ सहसरामबाटै अञ्जना पण्डित नेपाली काङ्ग्रेसबाट मधेस प्रदेश सांसद निर्वाचित भएका हुन् । 

 

‘मधेस प्रदेशका साथै मनरासिसवाका जनताको सर्वांगीण विकासमा हाम्रा ६ जना सांसदले अविस्मरणीय, अनुकरणीय एवं उदाहरणीय प्रतिनिधित्व गर्नेमा हामी विश्वस्त छौँ र सफलताको कामना पनि गर्छौँ’, नगरप्रमुख पाण्डेले भने । 

 

प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित भएकी रानीकुमारी तिवारीले आफूहरू सबै ६ जना प्रदेश सांसद एउटै पालिकाको भएकामा आफूलाई गौरव लागेको प्रतिक्रिया दिए । मनरासिसवाको सर्वांगीण विकासका लागि सबै ६ जना प्रदेश सांसदबीच समन्वय गरेर अघि बढ्न आफूले पहले गर्ने तिवारीले बताए । 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्