जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि
काठमाडौँ– जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेकाे छ । आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए ।
२५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए । अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ ।
आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए ।
विद्युत् उत्पादन गृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादन गृहलगायत ठाउँमा पूर्वाधारका काम भइरहेको उनले बताए ।
त्यस्तै आयोजना निर्माण गर्न १ वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । निर्माण सुरु भएको ५ वर्षभित्र विद्युत् उत्पादन हुने आयोजना प्रमुख सापकोटाले दाबी गरे ।
जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६.१ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् १०६ मेगावाट विद्युत् उत्पादन हुने छ ।
आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताइएको छ । सेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको ९ प्रतिशत छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारको ५ प्रतिशत र प्रभावित क्षेत्रका २ पालिका मुड्केचुला र जगदुल्लाको १ प्रतिशत सेयर रहने छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि खुला गरिने बताइएको छ ।
२० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक १ करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ । आयोजना निर्माणपछि राज्यलाई वार्षिक झन्डै २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । २०७४ जेठ १६ गते कम्पनी स्थापना गरिएको थियो ।
प्रदेश सरकारले ११ लाख ७१ हजार ५०० कित्ता सेयर खरिद गरेबापत ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ ।
यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको छ ।