Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली कागजको माग धेरै, उत्पादन कम

आइतबार, पुस १७, २०७९

गोरखा–गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पदार्थको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पदार्थको अभाव हुँदै आएको हो ।


कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पदार्थ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए । ‘जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ’, उनले भने, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’


शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै ५ वर्ष भइसकेको छ । ‘बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन’, शेर्पाले भने, ‘बरु कागज उत्पादनका लागि सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’ जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल १५ हजार रुपैयाँमा खरिद गर्ने गरेको उनले बताए । १ क्विन्टल कच्चा पदार्थबाट २ हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिए ।


उद्योगबाट उत्पादित नेपाली कागज अघिकांश सरकारी कामकाजका लागि प्रयोग हुने गरेको भए पनि थाङ्का र्कोने, धुप बनाउने, डायरी बनाउने, नोटबुक बनाउने काममा समेत प्रयोग हुने गरेको सञ्चालक शेर्पाको जानकारी दिए । ४० ग्रामका कागज भने नेपाल बाहिर निर्यात हुने गरेको शेर्पाको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्