Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरुमा राजाले 'नाे' भनेकाे पाेखरा विमानस्थल ४७ वर्षपछि सञ्चालनमा

आइतबार, पुस १७, २०७९

पोखरा– गण्डकी अञ्चलका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तत्कालीन राजा वीरेन्द्रसँग २०३२ सालमा प्रस्ताव गरेका थिए ।

 

बेलायत भ्रमणबाट फर्केका पाठकको उक्त प्रस्ताव राजा वीरेन्द्रले सुरुमै अस्वीकार गरे । पाठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन राजा वीरेन्द्रसँग विभिन्न माध्यमबाट प्रयास गर्दा ७ दिनपछि उनै वीरेन्द्रले पाठकलाई बोलाएर विमानस्थलको भावी रणनीतिसँगै आवश्यकताका बारेमा सोधखोज गरे ।

 

पाठकले ३० वर्षपछिको जनसङ्ख्याको सम्भावना र उडान चापको बारेमा जानकारी गराएपछि अन्ततः वीरेन्द्र उनकाे प्रस्तावमा राजी भएको पर्यटन मन्त्रालयको अन्तर्राष्ट्रिय विमानस्थल सुधारसम्बन्धी प्रतिवेदनमा उल्लेख छ । 


२०३२ सालमा पाठकले ७ अर्ब लागतमा विमानस्थल निर्माण हुन सक्ने गरी अन्तर्राष्ट्रिय विमानस्थलको खाका प्रस्तुत गरेका थिए ।

 

तत्कालीन अञ्चलाधीश पाठकले ७ देशमा सञ्चालन भएका अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय उडानको सम्भावनासमेत प्रस्ताव गरेपछि राजा वीरेन्द्र विमानस्थल बनाउने योजनामा राजी भएको प्रतिवेदनमा भनिएको छ । 


तत्कालीन समयमा ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६२९ रोपनी अधिग्रहण भयो । पटकपटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्ब रुपैयाँमा अहिले विमानस्थल निर्माण गरिएको हो । 


२२ अर्ब रुपैयाँ लागतमा विमानस्थल निर्माण भएसँगै पोखरबासीले करिब ५० वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल पाएका छन् । २०७४ सालमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले यो विमास्थल गण्डकी प्रदेशकाे सपना रहेको बताएका थिए । 


नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको छ । यो एउटा विकासको उपलब्धि भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतम बताउँछन् ।


विमानस्थल बनाएर सञ्चालनमा ल्याउन लामो समय कुर्नुपरेको उनले बताए । विमानस्थल सञ्चालनमा आएसँगै नेपालको पर्यटन र उड्डयन क्षेत्रमा नयाँ आयाम थपिएको उनको भनाइ छ । 


विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्छ । २ हजार ५०० मिटर रनवे भएको पोखरा विमानस्थलमा एयर बस ३२० उडान र अवतरण हुन सक्छ । 


प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तर्राष्ट्रिय उडान हुने बताउँदै आए पनि अन्ततः उडान भने नहुने भएको छ ।


अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदासमेत दिएको छ । चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगस्ट, २०१७ देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्