प्रदेश १ मा सरकार गठनका लागि १ साताकाे समय
विराटनगर- प्रदेश १ प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।
मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहमुत पुर्याउन नसकेपछि प्रदेश प्रमुख खापुङले १ साताको समय दिएर संविधानको धारा १६८ को उपाधारा २ बमोजिम २ वा २ भन्दा बढी दललाई सरकार निर्माणका लागि आह्वान गरेका हुन् ।
प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको १६ दिनपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका हुन ।
यस प्रदेशमा सरकार निर्माणका लागि ४७ सिट संख्या आवश्यक पर्छ । प्रदेश १ मा सरकार निर्माणका लागि प्रष्ट बहुमत पुग्ने अवस्था छैन ।
सरकारमा एमाले र माओवादीको दाबी
प्रदेश १ सरकारको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरेका छन् । प्रदेश १ को ठूलो दल एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा १३ सदस्यसहित माओवादी केन्द्र तेस्रो दल हो । ४० सदस्य जितेको एमालेको एमालेको सशक्त दाबी छ । नेपाली कांग्रेस सहितको गठबन्धनमा हुँदा नेतृत्वका लागि माओवादीले दाबी गरेको थियो । एमालेसँग गठबन्धन भएपछि पनि माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्व दाबी गरेको हो ।
एमालेबाट दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको उम्मेदवार हुन् । एमाले संसदीय दलको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
नयाँ सत्ता समीकरण बनेपछि प्रदेश सरकारको नेतृत्वमा सशक्त दाबी गरेको नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।