Nic Ad Nic Ad
Nic Ad Nic Ad

कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध

आइतबार, पुस १७, २०७९

कटारी– उदयपुरको कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् ।

 

यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै फेरि फोहोर फाल्न रोक लगाएका हुन् । यसअघि १९ मङ्सिरमा फोहर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए । 

 

राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारीले भने, ‘ज्ञापनपत्रमा पुस १ गतेदेखि फोहर फाल्न नदिने अल्टिमेटम दिइएको थियो ।’ पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहर फाल्न रोक लगाइएको स्थानीय देव ढुङ्गेलले बताए । 

 

स्थानीयवासीको पटकपकटको अवरोधपछि नगरपालिकाले फोहर विसर्जन स्थलको खोजी गरिरहेको उपप्रमुख गीता खड्काले बताउनुभयो । “वन कार्यालय, वडाध्यक्ष, टोलविकास संस्थाका पदाधिकारीको टोलीले स्थान खोजिरहेका छौँ”, उनले भने, ‘समस्या समाधानका लागि पहल गरिरहेका छौँ ।’

 

पटक पटक राजावासबाट फोहर विसर्जन स्थल अन्यत्र हटाउन नगरपालिकामा मौखिक तथा लिखितमा गर्दा समेत सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । राजावासमा बस्ती नजिकै जथाभावी फोहर फाल्दा स्थानीयवासीले समस्या हुने गरेको बताउँदै आएका छन् ।

 

बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नुपरेको टोल विकास संस्थाका अध्यक्ष अधिकारीले बताए । ‘दुर्गन्ध फैलिन्छ, गाउँमा भात खान सक्ने अवस्था छैन,  दिनप्रति दिन रोग फैलिँदैछ, झिङ्गा भन्किने जस्ता समस्या छन्’, उनले भने ।

 

बजार नजिकै फालिएको फोहरका कारण बजारमा प्रदूषण बढ्ने गरेको छ । फोहर फैलिएको ठाउँ नजिकै सशस्त्र बेसक्याम्प, बौद्ध गुम्बा र बस्ती छ । फोहर फैलिएको खोलापारि कटारी बजार छ । –रासस

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्