इन्टरनेट सेवा अवरुद्ध गर्ने आईस्पानको चेतावनी
काठमाडौँ –इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।
प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएको र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भएर प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ ।
पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए । ‘विद्युत प्राधिकरणले तार काटीरहे जुन सुकै बेला इन्टरनेट बन्द हुन्छ,तालाचाबी बुझाउछौं’ उनले भने ।
उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६०० देखि ७०० प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लंघन गरेको उल्लेख गरे । यता, नेपाल विद्युत् प्राधिकरणले भने इन्टरनेट सेवा प्रदायकले पोलभाडाबापतको रकम नतिरेपछि बाध्य भएर इन्टरनेटको तार काट्नुपरेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भट्टराइले राज्यको संरचना प्रयोग गरेपछि पोलभाडा तिर्नुपर्ने दायित्व इन्टरनेट सेवाप्रदायको भएको जिकिर गरे । उनले भने, ‘राज्यको संरचना प्रयोग गरे पछि भाडा त तिर्नुपर्यो नी राज्यले तोकेको दरमा ।’ सेवा प्रदायकहरुले राज्यको संरचना प्रयोग गर्ने मात्र भाडा नतिरेका कारण तार काट्नुपरेको उनले बताए ।