नेकपा एसको पोलिटब्युरो बैठकः वामपन्थी शक्तिका बीचमा एकता गर्नुपर्नेमा जोड
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् । सोमवारबाट शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरुले वामपन्थी शक्तिहरुका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरुले वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेका बताए । उनले वामपन्थीहरुको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताए ।
त्यस्तै संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरु एकमत रहेको उल्लेख गरे । बैठकमा करिव ३० जना सदस्यले आफ्नो धारणा राखेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
उनले भने– ‘अधिकांशतः आफ्नो पार्टीलाई सबल बनाएर शक्ति सुदृढीकरण गरिसकेपछि मात्रै हामी सबै उपलब्धी प्राप्त गर्नसक्छौँ । आजदेखि अभियान पाँच वर्षसम्म लगातार पार्टी निर्माणको अभियानमा हामी हिड्नुपर्छ भन्नेमा सबैको एक मत छ । अब वाम एकताको बारेमा, वामपन्थीहरुलाई एकतावद्ध बनाउन पहल गर्ने कुरामा सबैको एक मत छ । निर्णय भएको छैन । अरु कतिपय विषयमा विभिन्न प्रकारका छलफलहरु चलिरहेका छन् ।’
उनले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रश्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए । बैठक मंगलवार बिहान ११ बजे पुनः बस्नेछ ।