कम लगानीमा धेरै आम्दानी हुने भएपछि धान छाडेर सुपारी खेतीतर्फ किसान
काठमाडौँ– कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ ।
एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा २ हजार ६३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्यांक छ ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट १० गुणा बढी आम्दानी हुने बताए ।
उनले डेढ बिघा जमिनमा सुपारी खेती गरेका छन् । थप केही बिघामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहेका छन् । उनले सुपारीको फलबाट मात्र वर्षमा खर्च कटाएर ३ लाख आम्दानी गरिरहेको बताए ।
‘कुलो नलाग्ने पाखो १ बिघा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ’, धानसँग सुपारी खेतीको आम्दानी दाँज्दै उनले भने, ‘सुपारी खेतीमा ३ लाख आम्दानी गर्न २० हजार जति मलजलमा लगानी गरे पुग्छ ।’
सुपारी नगदे बाली हो । बोटमा फल लाग्न थालेपछि खरिद गर्ने व्यापारी अग्रिम दाम बुझाउन आउने गर्छन् । बिरुवा लगाएको ६ वर्षपछि आम्दानी दिने यसको खेती विस्तार र प्रवर्द्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रम ल्याउने गरेको छ ।
सुपारी बारीभित्रै तोरी, फिलुंगे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवालगायत विभिन्न प्रकारका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ । एकै सिजनमा विभिन्न बाली लगाउने यो प्रचलनलाई ३ तल्ले खेती पनि भन्ने गरिएको छ ।
जिल्लामा सुपारी खेती प्रवर्द्धनका लागि सरकारले सुपारी जोन परियोजना लागू गरेको छ । सुपारी जोनमा आवद्ध किसानलाई खेती विस्तार, मल, सिँचाइ, उपकरण र बजारीकरणका लागि सरकारले अनुदानसमेत दिने गरेको झापाको सुपारी जोनका निवर्तमान अध्यक्ष कृषक नीलकण्ठ तिवारी बताउँछन् ।
यस वर्ष झापामा सुपारी दाना प्रतिकेजी ५० देखि ९५ रुपैयाँसम्ममा बोटबाटै बिक्री भएको छ । बजारको अभाव छैन । भारतबाट व्यापारीहरू सुपारी किन्न घरघरमै आउँछन् ।
सुपारीको दानाबाट मात्र होइन, पातबाट समेत आम्दानी हुने गरेको छ । मेचीनगर, बुद्धशान्ति र अर्जुनधाराका दर्जनौँ स्थानमा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा छन् ।
उद्योगले किसानको घरमा पुगेर सुपारीको पात प्रतिगोटा २ मा किनेर लैजाने गरेको तिवारीले बताए । यहाँ उत्पादित सुपारीको पातका दुना, टपरी, थाल, बटुका र चम्चाले मुलुकका ठुला तारे होटलदेखि युरोपसम्म आकर्षक बजार पाउने गरेको छ ।
जिल्लाको उत्तरी चुरे पहाडी शृङ्खलासँग जोडिएको तराईको भिरालो जमिनमा सुपारी असाध्य फस्टाउने गरेको छ । यहाँ जंगली हात्तीको उपद्रो बढी भएकाले किसान हात्तीले नखाने बालीको रूपमा सुपारी र चियाको खेती गर्छन् ।
सुपारी जोनमा आबद्ध कृषि फार्म अर्थात् कृषक समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोदाम निर्माण, उद्योग स्थापना र विभिन्न कृषि औजारमा ५० देखि ७५ प्रतिशत अनुदान दिने गरेको तिवारीले बताए ।
परियोजनाले धान, रबरसँगै २०७५ देखि सुपारी जोनसमेत सञ्चालनमा छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले यहाँ सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ । -रासस