पारिश्रमिक नपाएपछि खेलाडीले टस गर्न मानेनन्
काठमाडौं- नेपाल टी-२० लिगको निर्धारित खेल प्रभावित भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले टस गर्न नमानेपछि खेल प्रभावित भएको हो ।
काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस गर्न नमानेका हुन् । बिहान ८:३० का लागि तय टसका लागि दुवै टोली तयार भएनन्। त्यसअअघि भर्नुपर्ने प्लेइङ ११ समेत उनीहरूले भर्न इन्कार गरेका छन् ।
सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउनुपर्ने हुन्छ । तर पोखराका खेलाडीले मात्रै ५० प्रतिशत पाएका छन् ।
आयोजक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन आहलुवालिया सम्पर्कविहीन रहेको बताइएको छ । यसैगरी केही टिमका मालिकसमेत सम्पर्कविहीन बनेका छन् ।
यसैबीच, कमेन्टेटर सचिन तिमल्सेनाले सामाजिक सञ्जाल ट्विटरमार्फत आजबाट यो लिगमा ब्रोडकास्टर या कमेन्टेटरको रूपमा आफ्नो संलग्नता नरहने जनाएका छन् ।
उनले लेखेका छन्, ‘नेपाल टी–२०, फिक्सिङ र पारिश्रमिक नदिई गायब आयोजक ! नेपाल टी–२० लाई कमेन्टेटरको रूपमा नजिकबाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रूपमा मेरो कुनै संलग्नता रहने छैन ।’