पारिश्रमिकको ग्यारेन्टी पाएपछि खेलाडीहरू मैदानमा फर्किए
काठमाडौँ –नेपाल टी–२० क्रिकेट लिगमा उत्पन्न विवाद अन्त्य भएको छ ।
सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरू मैदानमा फर्किएका छन् ।
खेलाडीहरूको आन्दोलनका कारण बिहान ९ बजे सुरू हुनु पर्ने काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल झण्डै २ घण्टा ढिलो सुरू भएको छ ।
खेल ढिला सुरू गरिएकाले खेल अवधिलाई नौ ओभरमा झारिएको छ ।
खेलमा टस जितेको काठमाडौँले अहिले ब्याटिङ गरिरहेको छ ।
यसअघि पारिश्रमिक नपाएको भन्दै खेलाडीहरूले टस समेत नगरी आन्दोलनमा उत्रिएका थिए । सहमति अनुसार खेलाडीहरूले प्रतियोगिता सुरू हुनु भन्दा पहिले ४० प्रतिशत र खेल चलिरहँदा ६० प्रतिशत रकम पाउनु पर्ने थियो ।
क्यानले सम्पर्क बाहिर रहेका आयोजक सेभेन थ्री स्पोर्ट्स र अन्य क्लबका मालिकहरूलाई सम्पर्क गरेर पारिश्रमिक दिलाउने प्रतिबद्धता जनाएको छ ।
यस्तै, मङ्गलाबार दिउँसो जनकपुर रोयल्स र लुम्विनी अलस्टारबीच खेल हुनेछ ।