मधेशको शैक्षिक र पर्यटकीय गन्तव्य बन्दै संस्कृत विद्यालय
महोत्तरी–‘यह विद्यालय हमारी संस्कृति, सभ्यता और पहिचानका प्रतीक है, हमारी धरोहर है’ (यो विद्यालय हाम्रो संस्कृति, सभ्यता र परिचयको प्रतीक हो, हाम्रो धरोहर हो) महोत्तरी मटिहानी–७ स्थित ३०४ वर्ष पुरानो गुरुकुल (हालको राजकीय संस्कृत माध्यमिक विद्यालय) अवलोकनपश्चात् भारतीय विद्वान पूर्वीय दर्शनका ज्ञाता रमेशचन्द्र टिकमानीले आगन्तुक पुस्तिकामा लेखे ।
६ वैशाखमा विद्यालय अवलोकनका लागि प्राध्यापक, अन्वेषक र विश्लेषकहरूको भारतीय टोलीका साथ आएका टिकमानीले भारत वर्ष (हालको दक्षिण पूर्वी एसिया क्षेत्र, आर्यावर्त) को पुरातन भाषा, साहित्यको विकास र संरक्षणमा राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको योगदानको स्मरण गरे ।
प्राचीन र वैज्ञानिक भाषा संस्कृतको सम्वद्र्धनमा विद्यालयको योगदानको टिकमानीले सराहना पनि गरे ।
गत वर्ष ६ मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय अवलोकन गरेपछि यहाँ पाहुना आउने क्रम ह्वात्तै बढेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरूको आगमनले विद्यालयको ओज बढेको प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन् ।
बितेको १ वर्षभित्रै २ सयभन्दा बढी विशिष्ट व्यक्तित्वको आगमन भएको उनले जानकारी दिए । देश विदेशका विशिष्ट व्यक्तित्व र विभिन्न क्षेत्रका अध्येताहरूको बाक्लो आगमनले विद्यालय शैक्षिक पर्यटनको गन्तव्य बन्दै गएकामा मटिहानीबासी खुसी छन् ।
पछिल्लो १ वर्षभित्र विश्वविख्यात क्याम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधिको शोध गरिरहेका ग्रेस मुइलर र प्रमोदकुमार मेहताले गत वैशाखमै विद्यालयको अवलोकन भ्रमणसँगै यहाँको पठनपाठन र व्यवस्थापनबारे जानकारी लिएको थिए ।
त्यसैगरी सङ्युक्त राष्ट्रसङ्घीय कोषका नेपालस्थित विशिष्ट अधिकारी इरफान अलराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी र प्राडा ऋषिराम पौडेलसहितका व्यक्तित्व गत भदौमा विद्यालय अवलोकन गरेका थिए ।
विशिष्ट व्यक्तित्वसहित देश विदेशका अतिथिको सघन अवलोकनले विद्यालयलाई शैक्षिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।
नगर प्रमुख मण्डल भन्छन्, ‘प्रादेशिक र सङ्घीय सरकारको साथ पाए विद्यालय र यससँगै जोडिएको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) लाई संस्कृत भाषा÷साहित्य र पूर्वीय दर्शनको अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।’
एकताका उच्च कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने यस संस्कृत पाठशालाको अब नाउँ मात्र फेरिएको छैन, राजकीय संस्कृत माध्यमिक विद्यालय सबै जातजाति र समुदायको साझा बन्दैछ । यहाँ अहिले विभिन्न जातजाति÷धर्म सम्प्रदायका बालबालिका अध्ययन गर्दैछन् ।
‘छोरी शिक्षालाई त विशेष ध्यान नै दिएका छौँ, कक्षा ११ र १२ को शिक्षा छोरीलाई पूर्ण निःशुल्क छ’, प्रधानाध्यापक पौडेलले भने ।
भारतसँग सीमा जोडिएको महोत्तरीको मटिहानीस्थित विद्यालय जातीय दृष्टिले मात्र नभई पहाड–मधेस सम्बन्धको आधार बनेको छ । करिब सयौं वर्षको इतिहास बनाएको यो विद्यालयमा संस्कृत विषयको अध्ययन मोहले आउने पहाडी जिल्लाका विद्यार्थीको ठूलो उपस्थितिले यो पहाड–मधेस सम्बन्धको सेतु रहँदै आएको मटिहानीबासी बताउँछन् ।
विसं १७७५ मा स्थापित भएको भनिने यस विद्यालयको प्रमाणिक अभिलेख भने विसं १८८२ देखिको भेटिएको छ । राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान् लक्ष्मीनारायण र महामुनि याज्ञवल्क्यका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा स्नातक तहसम्मको उच्च शिक्षा लिन पाएपछि यहाँ पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको हो ।
अहिले विद्यालयका १०५ विद्यार्थीमा छात्राको सङ्ख्या ४० प्रतिशतको हाराहारी छ । बालगुरु षडाननले समेत शिक्षा लिएका मानिने यो विद्यालय तश्मैया बाबा (तश्मैया नाउँका साधक) ले स्थापना गरेर यसको सञ्चालन गुठीबाट हुने व्यवस्था मिलाएका मटिहानीका बूढापाका बताउँछन् । रासस