त्रिविको लापरबाही : स्नातक पहिलो वर्षमै दुइटा ब्याच
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा अहिले स्नातक तह पहिलो वर्षमा २ वटा शैक्षिक सत्र सञ्चालन भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २०७८ मा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीको वार्षिक परीक्षा नै नगराई नयाँ भर्ना खोलेका कारण स्नातक तह प्रथम वर्षमै २ वटा ब्याचले अध्ययन गरिरहेका छन् ।
त्रिविले गत भदौमै स्नातक तहको भर्ना खोलेको थियो । त्रिविको शैक्षिक क्यालेन्डरअनुसार, शैक्षिक वर्ष २०७९/८० का विद्यार्थीका लागि मङ्सिर १८ बाट नियमित अध्यापन सुरु भइसकेको छ ।
तर २०७८/७९ ब्याचमा भर्ना भएका विद्यार्थीको वार्षिक परीक्षाको टुंगो भने अझै लागेको छैन । उनीहरूका लागि त्रिविले भर्खरै परीक्षा आवेदन फारम खुलाएको छ ।
स्नातक तहमा शैक्षिक सत्र २०७८/७९ को पढाइ २०७८ चैतबाट नियमित भएको थियो । सबैजसो शिक्षण संस्थामा अघिल्लो ब्याचका विद्यार्थीको पढाइ पूरा भइसकेको छ । विद्यार्थी भने परीक्षाको मिति पर्खिंदै घरमै बस्न बाध्य छन् ।
त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले विश्वविद्यालयको सम्बन्ीित निकायबीचको समन्वयमा नै स्नातक तह पहिलो वर्षको परीक्षा र भर्नाको सूचना प्रकाशन भएको बताए ।
त्रिविको शैक्षिक क्यालेन्डरअनुसार २०७८/७९ मा भर्ना भएका विद्यार्थीका लागि २०७९ को पुस महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, त्रिविले आफ्नै शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा हजारौँ विद्यार्थी मारमा परेका छन् ।
त्रिविले शैक्षिक क्यालेन्डर लागू गर्न नसक्दा पहिलो वर्षमा अध्ययनरत विद्यार्थी मात्रै होइन, दोस्रो वर्षका विद्यार्थीको पनि वार्षिक परीक्षा कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन ।
दोस्रो वर्षको परीक्षा भएपछि मात्रै पहिलो वर्षको परीक्षा हुनुपर्ने हो । तर, अहिले दुवै वर्षमा अध्ययनरत विद्यार्थी परीक्षाको पर्खाइमा छन् ।
त्रिविअन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रेशम अधिकारी (२२) त्रिविले समयमा परीक्षा नगर्ने र नतिजा पनि ढिलो प्रकाशन गर्ने हुँदा स्नातक तह अध्ययनमा आवश्यकताभन्दा बढी समय खर्चिनुपरेको बताउँछन् ।
‘विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न र नजिता प्रकाशन गर्न नै वर्षौँ लगाउँछ भने अन्य कुरामा त के आस गर्नु ?’, अधिकारीले गुनासो पोखे । विश्वविद्यालयको लापरबाहीका कारण हजारौँ विद्यार्थीले शैक्षिक सत्र पूरा गर्न अनावश्यक समय खर्चिनुपरेको अधिकारीको भनाइ छ ।
त्रिविका अर्का विद्यार्थी खेम खतिवडा पनि त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण विद्यार्थीको परीक्षा र नतिजा प्रकाशनमा समस्या हुने गरेको बताउँछन् । ‘एक त समयमा परीक्षा हुँदैन । नतिजाका लागि पनि धेरै पर्खिनुपर्छ । जसका कारण पढाइ छाड्ने वा निरन्तरता दिने भन्नेबारे हामी अन्योलमा परेका छौँ,’ खतिवडाले भने ।
परीक्षा सञ्चालन र नजिता प्रकाशनको समस्याका बारेमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड– १९ महामारीका कारण शैक्षिक क्यालेन्डर प्रभावित भएको र त्यसको व्यवस्थापनको प्रयास भइरहेको बताए ।
‘कोभिड–१९ महामारीका कारण २ वर्ष समयमा परीक्षा सञ्चालन गर्न सकेनौँ । त्यसले समय धकेलिँदै आयो । अहिले क्रमशः शैक्षिक क्यालेन्डरलाई लयमा ल्याउने प्रयास गरिरहेका छौँ’, जोशीले भने ।
स्नातक तेस्रो वर्षको नतिजा नआउँदै स्नातकोत्तरमा भर्ना
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको अन्तिम वर्ष (अहिले तेस्रो वर्ष)को नतिजा नआउँदै स्नातकोत्तर तहको भर्ना खुलाएको छ । परीक्षा दिएको १० महिनासम्म पनि नतिजा नआउँदा हैरान विद्यार्थी स्नातकोत्तरको भर्ना खुलेसँगै थप अन्योलमा परेका छन् ।
त्रिविले सूचना प्रकाशन गरेर पुस ५ गतेदेखि माघ ४ गतेसम्म स्नातकोत्तर तहमा भर्ना हुन भनेको छ । तर, स्नातकोत्तर पढ्नका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । त्रिविले स्नातक तह तेस्रो वर्षको नतिजा भने प्रकाशन गरेको छैन ।
स्नातकोत्तर तहको नियमित कक्षा माघ २२ गतेदेखि सञ्चालन हुने गरी त्रिविले शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ ।
परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा त्रिविले लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघले मंगलबार त्रिविको परीक्षा नियन्त्रण कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ ।