सुमितको धन्दाः नयाँ फर्म खोल्दै राजस्व छल्दै, सरकारलाई तिरेनन् ३३ करोड कर
काठमाडौँ- रुपन्देहीको एक व्यावासायिक फर्मका सञ्चालकले ३३ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेका छन् ।
व्यावसायिक कारोबार गर्ने संस्थाले नियमअनुसार सरकारलाई कर बुझाउनुपर्नेमा सुमित एन्ड स्वायत्ता ट्रेडर्सका सञ्चालकले कर नतिरी सो रकमबराबरको राजस्व हिनामिना गरेका हुन् ।
राजस्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीमा रहेको सो फर्मका सञ्चालकले ३३ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको पाइएको छ ।
सो फर्मका सञ्चालक पुनीत बानियाँले विभिन्न नाममा फर्म खोल्ने र ती फर्मले नियमअनुसार तिर्नुपर्ने राजस्व नतिरी अर्काे फर्म खोलेर फेरि व्यवसाय गर्ने गरेको पाइएको हो ।
‘आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सोबमोजिमको करयोग्य आयमा लाग्ने कर रकम समेत सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा सो बमोजिम नगरी ननफाइलर रही अन्य विभिन्न फर्म प्रयोग गरी अवैध तवरले केही समय कारोबार गर्ने गरेको पाइयो,’ राजस्व अनुसन्धान विभागले भनेको छ ।
सो फर्मका सञ्चालक र उक्त फर्मले बुझाउनुपर्ने राजस्व नबुझाई अर्काे फर्मबाट समेत कारोबार गरेको देखिँदा उनीहरूले जानाजान गलत नियतले कारोबार लुकाउने उद्देश्यले विभिन्न फर्म सञ्चालन गरी नेपाल सरकारलाई नियमानुसार तिर्नु/बुझाउनुपर्ने राजस्व नबुझाएको विभागको भनाइ छ ।
‘निरन्तर एकपछि अर्काे फर्मबाट कारोबार गर्दै आइरहेको र निजले कर कार्यालयलाई समेत गुमराहमा राख्न नितान्त राजस्व छल्ने नियतले कार्य गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिमको राजस्व चुहावटको कसुर गरेको देखियो,’ विभागले भनेको छ ।
सो फर्मले अहिलेसम्ममा ३३ करोड ३ लाख ५० हजार रुपैयाँ राजस्व हिनामिना गरेको विभागको अनुुसन्धानले देखाएको छ । यस्तो बद्मासी देखिएपछि विभागले सुमित एन्ड स्वायत्ता ट्रेडर्सका सञ्चालक पुनीत बानियाँविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले उच्च अदालत बुटबलमा पुस १३ गते मुद्दा दायर गरेको हो । विभागले बानियाँसँग राजस्व हिनामिना गरेको रकम असुली र सोही बराबरको रकम जरिमानासमेत गरी ६६ करोड ७ लाख रुपैयाँ असुल उपर गर्न दाबी गरी मुद्दा दायर गरेको हो ।
यस्तै, विभागले राजस्व हिनामिना गरेको आरोपमा नै ललितपुर महानगरपालिका-११ कुम्भेश्वर स्थायी बसोबास भएका त्रिशक्ति ट्रेडर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जनले पनि राजस्व छली गरेको फेला पारेको छ ।
विभागले गरेको अनुसन्धानअनुसार सो फर्मका सञ्चालक महर्जनले ६ करोड १७ लाख रुपैयाँ राजस्व छली गरेको फेला परेको हो । सोबराबरको रकम असुल गर्न विभागले महर्जनविरुद्ध पनि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।