जसपाको निर्णयः सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने, नभए समर्थनमात्रै
काठमाडौँ– सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय जनता समाजवादी पार्टी (जसपा)ले गरेको छ ।
मंगलबार सकिएको जसपाको राजनीतिक समितिको बैठकमा बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
प्रवक्ता मनिष सुमनले बैठकले सम्मानजनक शक्ति बाँडफाँट नभए पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय समेत गरेको जानकारी दिए। साथै, बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनले जानकारी दिए ।
त्यस्तै, शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समितिले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्ने बैठकले निर्णय गरेको छ । साथै, विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ ।