नेकपा एस र जसपा एकीकरण प्रस्ताव, संसदमा चौथो शक्ति बन्ने अभिलाषा
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच एकीकरणको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ ।
जनता समाजवादी पार्टीको राजनीतिक समितिमा एकीकृत समाजवादीसँग एकताको सम्भावनाबारे छलफल भएको छ । जसपाले केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पार्टी एकताका लागि संवाद समिति नै गठन गरेको छ । उक्त समितिले मंगलबार राखेको बैठकमा एकीकृत समाजवादीसँग एकताको सम्भावनाको बारेमा छलफल भएको हो ।
जसपा नेता इस्तियाक राईले विभिन्न पार्टीसँग एकताको सम्भावनाबारे छलफल भइरहेको बताए ।
‘पार्टी एकताका लागि विभिन्न दलसँग छलफल गर्न समिति नै बनाएका छौँ । त्यसमा विभिन्न सम्भावनाका बारेमा छलफल भइरहेकै छ’, राईले भने ।
जसपाले प्रतिनिधिसभामा १२ सिट जितेको छ । अध्यक्ष उपेन्द्र यादव भने चुनावमा पराजित भएका छन् । यता एकीकृत समाजवादीले चुनावमा १० सिट जितेको छ । दुवै पार्टी एकीकृत हुँदा प्रतिनिधिसभामा २२ सिटसहितको चौथो शक्ति बन्छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पनि विचार मिल्ने शक्तिहरूबीच एकताका लागि सधैँ खुला रहेको बताए ।
‘विचार मिल्ने समूह एकीकृत हुने र वामपन्थी आन्दोलनलाई बलियो बनाएर जाने कुरामा सधैँ खुला छौँ’, उनले भने ।
जनता समाजवादी पार्टीसँगको एकताको विषयमा प्रारम्भिक छलफल मात्रै भएको र त्यसले औपाचारिकता पाइनसकेको खतिवडाले बताए ।
‘दुई पार्टीबीचको एकताको विषयमा कुनै औपचारिक छलफल भएको छैन । अनौपचारिक रूपमा प्रारम्भिक छलफल भइरहेका छन्’, उनले भने ।
तर, जनता समाजवादी पार्टीमा एकताको विषयमा प्राथमिकता पाइरहेको उक्त दलका नेताहरू बताउँछन् ।
जसपाले पनि संसदीय राजनीतिमा कमजोर भएको महसुस गरेको र एकीकृत समाजवादी पार्टी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी नै बन्न नसकेको अवस्थामा दुई पार्टी एक भएर संसद्को बलियो शक्ति बन्ने विकल्प छ । तर, एकीकृत समाजवादी भने जसपासँग भन्दा माओवादी केन्द्रसँग नजिकको सम्बन्धमा छ ।
प्रदेशसभा र प्रतिनिधिसभाको चुनावअघि नै दुवै दलले पार्टी एकीकरणका लागि पार्टी एकता संयोजन समिति पनि बनाएका थिए ।
तर, एकीकृत समाजवादीमा पार्टी एकताका लागि नेताहरूका बीचमा एकमत नहुँदा संयोजन समिति प्रभावकारी हुन सकेको थिएन ।
समाजवादी फोरमको चर्चा
चुनावअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई एकत्रित गरेर समाजवादी केन्द्र बनाउने सन्दर्भमा विभिन्न चरणमा छलफल भएको थियो ।
उनीहरूले समाजवादी केन्द्रको एउटै चुनाव चिह्न र घोषणापत्र नै बनाएर चुनावमा जान सकिने सम्भावनाका विषयमा पनि छलफल गरेका थिए । तर, निर्वाचन कानुन र समानुपातिक मत व्यवस्थापनमा समस्या देखेपछि समाजवादी केन्द्रको बहस शिथिल बनेको थियो ।
चुनावपछि भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूबीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्यले समाजवादी फोरम बनाउन सकिने प्रस्ताव ल्याएका थिए । उनले माओवादी केन्द्रको पदाधिकारी बैठकमा उक्त प्रस्तावबारे छलफल गराएका थिए ।
माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘समाजवादलाई केन्द्रित गरेर उपयुक्त फोरम बनाएर जान सकिने सम्भावनाका बारेमा अध्यक्षले कुरा राख्नुभएको थियो ।’
विचार मिल्ने पार्टीहरूबीचको सहकार्यलाई मजबुत बनाउने गरी त्यस्तो फोरमको प्रस्ताव आएको उनले बताए ।
‘वामपन्थी भनिने र समाजवादमा विश्वास राख्ने शक्तिलाई एक ठाउँमा ल्याएर फोरम बनाउन सकिन्छ भन्ने हो । तर, यसबारे अझै स्पष्ट भइसकिएको छैन’, पोखरेलले भने ।
एमाले र माओवादी केन्द्रको सहकार्यमा सरकार नबन्दै आएको प्रचण्डको यो प्रस्ताव अहिले भने ओझेलमा छ ।
तत्कालीन अवस्थामा कांग्रेसँगको गठबन्धनमा ‘पावर बार्गेनिङ’का लागि समाजवादी फोरमको प्रस्ताव आएको चर्चा हुने गरेको थियो । माओवादी केन्द्र एमालेसँग मिलेर सरकारमा सहभागी भएपछि संसद्मा कमजोर शक्तिमा रहेका दलहरूले एकीकरणको प्रस्तावमा छलफल गरिरहेका छन् ।
साना शक्तिहरू मिलेर प्रभावशाली बन्नका लागि विभिन्न दलमा एकताको प्रस्ताव आदानप्रदान भइरहेको जसपा नेता राई स्वीकार्छन् ।