Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिलिपिन्समा बाढीका कारण ३३ हजारभन्दा बढी विस्थापित

मंगलबार, पुस १९, २०७९

मनिला– फिलिपिन्समा गत साता ५१ जनाको ज्यान गएको बाढीका कारण विस्थापित भएका ३३ हजार भन्दा बढी मानिस अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् ।

 

समाज कल्याण तथा विकास विभागले क्रिसमसको पूर्वसन्ध्यामा बाढीबाट गम्भीर रूपमा प्रभावित पाँच क्षेत्रका ८ हजार ९३० परिवारलाई उद्धार गरेको जनाएको छ ।

 

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मङ्गलबारको अद्यावधिक प्रतिवेदनमा मृतकको सङ्ख्या ५१ पुगेको र थप १९ बेपत्ताको खोजी  भइरहेको जनाएको छ । 

 

बाढीले  दक्षिणपूर्वी एसियाली देशका १० क्षेत्रका करिब  छ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्न बाध्य तुल्याएको थियो । स्थानीय रिपोर्टका अनुसार दक्षिणी फिलिपिन्सको लानाओ डेल नोर्टे प्रान्तमा आफ्ना काका र काकीसँग सवार मोटरसाइकललाई अचानक बाढीले बगाउँदा आठ वर्षीया बालिकाको मृत्यु भएको थियो ।

 

लानाओ डेल नोर्टे सूचना अधिकारी जोइला म्याक्सिन एसिकले बालिकाको डुबेर मृत्यु भएको र यस प्रान्तका झण्डै  छ हजार बासिन्दा बाढीबाट प्रभावित भएको बताइन्।

 

फिलिपिन्स विश्वव्यापी रूपमा सबैभन्दा प्रकोपबाट प्रभावित हुने देशहरू मध्ये एक हो ।  यहाँ औसतमा वार्षिक २० भन्दा बढी टाइफुनहरू आउँने गर्दछ तीमध्ये केही  अत्यन्त तीव्र गतिमा आउँने हुनाले विनाशकारी पनि हुन्छन्। –रासस सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्