रोनाल्डोले अल नासर क्लबबाट खेल्ने, यसरी गरियो स्वागत
काठमाडौँ – सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरबको फुटबल क्लब अल नासरमा औपचारिक अनुबन्धित भएका छन् । गत राति साउदीको राजधानी रियादको अल नासर मिसुल पार्क स्टेडियममा आतिशवाजीसहित अल नासर क्लबले उनको औपचारिक स्वागत गरेको हो ।
साउदीको फुटबल क्लबमा अनुबन्धित हुँदै रोनाल्डोले आफूलाई एक अद्वितीय खेलाडीको रूपमा वर्णन गरे । आफ्नो क्यारियर समाप्त नभएको उनले बताए । ३७ वर्षीय पोर्चुगिज सुपरस्टार रोनाल्डोले युरोपमा आफूले गर्न सक्ने सबै गरेको बताएका छन् । नयाँ केही गर्ने भोक बाँकी रहेकाले अल नासरमा आएको उनको भनाइ थियो ।
‘साउदी अरेबिया आउनु मेरो करियरको अन्त्य होइन। यही कारणले गर्दा म परिवर्तन भएको छु र साँच्चै भन्नुपर्दा मानिसहरूले के भन्छन् भन्नेमा म चिन्तित छैन,’ रोनाल्डोले भने।
अन्य क्लबले पनि आफूलाई अफर गरेको बताउँदै रोनाल्डोले अल नासर नै रोजेको प्रतिक्रिया दिएका थिए । अल नासरको पहेँलो र नीलो किट लगाएका रोनाल्डो पिचमा हिंड्दा भीडलाई अभिवादन गर्दै आतिशबाजी भयो । २५ हजार दर्शकले खचाखच भरिएको स्टेडियम तातियो ।