Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरिएको समीकरणसँगै सतहमा एमाले–माओवादी एकताको बहस

कार्यकर्ता उत्साहित, ‘पर्ख र हेर’ नीतिमा नेतृत्व
बुधबार, पुस २०, २०७९

काठमाडौँ– अप्रत्यासित रूपमा नेकपा एमाले र माआवादी केन्द्रको सहकार्यमा सरकार बनेपछि दुवै दलका कार्यकर्ता उत्साहित छन् ।


२०७७ मा भत्किएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्निमार्णको अवसर आएको भन्दै एमाले र माओवादी केन्द्रका कार्यकर्ताले बहस थालेका छन् । 


तर, नेतृत्व तहमा भने अहिल्यै दुई पार्टीबीचको एकताको विषयले प्रवेश पाइसकेको छैन । सार्वजनिक मञ्चहरूमा भने एमाले र माओवादी केन्द्रका नेताहरूले वामपन्थी एकताको आवश्यकतालाई नकार्दैनन् ।


माओवादी केन्द्रका महासचिव देव गुरूङ वामपन्थी पार्टीहरूबीचमा एकताको सम्भावना रहेको र त्यस्तो एकता विगतमा जस्तो देखावटी नहुने बताउँछन् ।


पछिल्लो पटक बनेको राजनीतिक समीकरणले बृहत् वाम अभियानको ढोका खुलेको एमाले र माओवादी दुवै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूले ‘गाइँगुइँ’ बहसमा ल्याउन थालेका छन् । 


तर, उनीहरूले वाम एकताका लागि गरेको बहस र विषय उठानलाई कतिपयले भने सरकारको भविष्यसँग जोडेर हेरिरहेका छन् ।
अहिलेको सरकारलाई ५ वर्ष निरन्तरता दिन नै वाम एकताको बहस चर्चामा ल्याइएको हुनसक्ने विश्लेषण पनि गर्न थालिएको छ । 
प्रचण्डले समाजवादी केन्द्र बनाउने संकेत गरेसँगै मंगलबार बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उनलाई भेट्न बालुवाटार पुगे । माओवादी केन्द्रसँग उनले पार्टी एकता अथवा समाजवादी केन्द्र बनाउन छलफल गरेको उनीनिकट नेताहरूले बताएका छन् ।

 

प्रचण्डले सार्वजनिक रूपमा त वाम एकताको विषय बोलेका छैनन् तर समाजवादी केन्द्र बनाउने उनको अभिव्यक्तिको आशय भने अन्ततः एकतामै गएर टुंगिने माओवादीका एक नेताले बताए । 

 

प्रचण्डले जस्तै एमालेका अध्यक्ष केपी ओली पनि पछिल्लो समय वाम एकताको पक्षमा रहेको छनक देखाइरहेका छन् । तत्काल पार्टी नै एक बनाएर बढ्ने विषयमा छलफल नभए पछि सबै वाम शक्ति एकठाउँमा उभिने गरी ‘बृहत् वाम अभियान’ बनाउनेबारे भने एमालेका कतिपय दोस्रो÷तेस्रो तहका नेता क्रियाशील रहेको एमाले स्रोतले बतायो । 

 

आफू ‘बृहत् वाम अभियान’को पक्षमा रहेको सन्देश दिन एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएको पनि राजनीतिक वृत्तमा चर्चा छ ।


त्यति मात्र होइन, आफ्नै नेतृत्वमा वाम एकता गरेर त्यसको जस लिने पक्षमा ओली देखिन्छन् । एमालेकै कतिपय नेता÷कार्यकर्ताले वाम एकताको यो अवसर भएको र यसलाई नगुमाउन ओलीलाई सुझाव दिएको बताइन्छ ।

 

एमाले नेतृत्वको ७ दलीय गठबन्धनबाट माओवादीको नेतृत्वमा सरकार बनेपछि वाम शक्तिबीच एकताको बहस सुरु भएको हो ।
तर, कतिपयले भने पछिल्लो समय भइरहेको वाम एकताको बहसलाई ५ वर्ष सरकार टिकाउने अस्त्रका रूपमा बुझेका छन् । 

 

नेपाली वाम आन्दोलनका प्रमुख दुई धार एमाले र माओवादी केन्द्रबीच ३ जेठ, २०७५ मा एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो ।  

 

तर, त्यो एकता धेरै टिक्न सकेन । एकीकरणको ३ वर्षमै पार्टी फेरि २ चिरा भयो । त्यसलगत्तै एमालेबाट एउटा टुक्रा फुटेर नेकपा एकीकृत समाजवादीका नाममा अर्को पार्टी बन्यो । 


यही छोटो समयबीचको एकता र विभाजनको श्रृंखलाका कारण एमाले र माओवादीका शीर्ष तहका नेता भने झस्किएका छन्, एक–अर्कासँग सशंकित छन् । उनीहरु तत्कालै पार्टी नै एक बनाउन भने तयार छैनन् ।


नेकपा विभाजनको असर गत ४ मङ्सिरमा भएको चुनावमा देखियो । सत्ता साझेदारी गरेका दलहरु गठबन्धन बनाएर चुनावमा जाँदा पनि माओवादी केन्द्र ३२ सिटमा सीमित रह्यो भने नेकपा एसले प्रत्यक्षमा १० सिट जितेर पनि समानुपातिका थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । 

 

आफूविरुद्ध सत्ता गठबन्धन दलहरू एकजुट भएर चुनाव लड्दा संसद्को सबैभन्दा ठुलो दल बन्ने दाउमा रहेको एमाले दोस्रोमा खुम्चिनुप¥यो ।


वाम दलका युवा नेता र कार्यकर्ता पंक्ति भने वाम शक्ति एकठाउँमा उभिन नसक्नुको परिणाम चुनावले देखाएको भन्दै अब त्यो गल्ती नगर्न नेतृत्वलाई दबाब दिने पक्षमा देखिन्छन् । हिजोका दिनमा जसका कारण पार्टी विभाजन भएको भए पनि त्यसलाई बिर्सेर अहिले सरकार गठनको बहानामा आएको यो अवसरलाई गुमाउन नहुने उनीहरूको तर्क छ ।  

 

‘जुनसुकै कारणले नेकपा फुटेको भए पनि आज हामी ‘कुनै’ कारणले एकठाउँमा आउनैप¥यो । यसको मतलब वाम एकताको विकल्प छैन भन्ने नै हो,’ माओवादीका एक युवा नेताले भने, ‘यति लामो संवादहीनता अन्त्य भएको छ, तिक्तता मेटिएको छ, यसलाई हामीले सत्ता सहकार्यमा मात्रै सीमित नराखेर बृहत् वाम एकताको अवसरमा रूपमा बदल्न ढिला गर्नुहुँदैन ।’ 

 

२०१९ सालदेखि विभाजन सुरु भएको कम्युनिस्ट आन्दोलन अहिलेसम्म जारी छ । त्यसबेलादेखि हालसम्म वाम शक्ति टुक्रिँदै–जोडिँदै करिब ३० वटा नयाँ दल बनिसकेका छन् ।

 

समस्या हेरेर मात्र एकता 

 

तत्काल एकता नभए पनि सरकार सञ्चालनसँगै एकताको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा दुवै पार्टीका शीर्ष तहका नेताहरू छन् । उनीहरू हतारमा एकता गरेर पछि विभाजन हुनुभन्दा एकतासँगै भविष्यको मोडलमा छलफल गदै एकतामा जानुपर्ने पक्षमा छन् ।

 

एकताभन्दा पनि यसको भविष्यको मापदण्ड बनाउनुपर्नेमा उनीहरूको जोड छ । 

 

प्रचण्ड नेतृत्वको सरकार बनेपछि एमाले महासचिव शंकर पोखरेलले नेपाली जनता पनि कम्युनिस्टहरू एकैठाउँ उभिएर देशको विकास गरेको हेर्न चाहेको राजधानीमा महिला फोरमले आयोजना गरेको कार्यक्रममा बताएका थिए ।

 

एमाले महासचिव पोखेरलले निर्वाचनमा हारे पनि वाम सरकार बनाउन जोड गरे र सफलसमेत भए । उनकै पहलमा एमाले अध्यक्ष ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएको एमालेका नेताहरूको दाबी छ । 

 

१६ पुसमा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिलेका युवा नेताहरू वाम एकताका लागि सक्रिय रहेको बताएका थिए । माओवादीको खरो विरोध गर्दै आएका बस्नेतसमेत पछिल्लो समयमा वाम एकता आवश्यक भनिरहेका छन् । 

 

बस्नेत जस्तै माओवादीका सचिव वर्षमान पुन पनि सार्वजनिक कार्यक्रममा वाम एकताको पक्षमा बोल्दै आएका छन् । उनले गत साता ललितपुरमा भएको एक कार्यक्रममा वाम एकता अहिलेको आवश्यकता भएको भन्दै ‘सबै कम्युनिस्ट एक स्थानमा उभिनुपर्ने’ बताए ।

 

पुनले जस्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ पनि निर्वाचन अघिदेखि नै वाम एकताका लागि लागिपरेका थिए । उनले २ वर्षयता वाम एकता नभए कम्युनिस्टहरूले ठुलो समस्या भोग्नुपर्ने बताउँदै आएका छन् । 


गत निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो भएपछि वामपन्थी दलका दोस्रो र तेस्रो पुस्ताका नेताहरू एकताको पक्षमा उभिए । 

 

हचुवाका भरमा वाम एकता भनेर मात्र नहुने र यसको मार्गचित्र प्रष्ट कोर्नुपर्ने एमालेका नेता राजन भट्टराई बताउँछन् । वाम एकता गर्दा र गर्नुअघि देखिने समस्याका विषयमा एउटा मापदण्ड बनाएर अघि बढ्नुपर्ने उनको धारणा छ । 


‘हिजोका गल्तीबाट पाठ सिकेर बिस्तारै वैचारिक धरातल बनाउँदै एकताको तहमा पुग्नुपर्छ । अहिलेको अवस्था यही छ । नत्र समस्या विगतको जस्तै दोहोरिन्छ,’ उनले भने ।

 

प्रचण्ड प्रधानमन्त्री हुनुअघि एमालेका महासचिव पोखरेल र माओवादीका सचिव पुनले वाम सरकार बनाउन सुर्खेतमा एक किसिमको सहमति गरिसकेको चर्चा छ ।

 

उनीहरूले वाम एकता र सरकार सञ्चालनको केही बुँदामा सहमति गरेपछि वाम नेतृत्वमा सरकार बनेको माओवादीका एक केन्द्रीय सदस्यले दाबी गरे । 

 

उनका अनुसार, के सहमति भयो भन्ने माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, महासचिव पोखरेल र माओवादी सचिव पुनसँगै अन्य केही नेता मात्र जानकार छन् । 

 

‘नेपालमा वाम दलका मतदाता कति छन्, यो त निर्वाचन परिमाणले देखाउँछ । नेपालमा रहेका कम्युनिस्ट प्रेमीहरूको चाहना पनि वाम एकता होस् भन्ने छ,’ माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘वाम एकता हुन्छ । त्यो पनि फेरि नफुट्ने गरी । विगतमा जस्तो सत्ता केन्द्रित एकता हुँदैन ।’

 

माओवादी महासचिव गुरुङले यसो भनिरहँदा एमालेका एक नेता भने माओवादीले सत्तामा टिकिरहन वाम एकतालाई अस्त्र बनाइरहेको आरोप लगाउँछन् ।

 

‘माओवादीले सत्ताका लागि रूप फेर्न सक्छ । यो विषयमा एमालेसहितका नेताहरू होसियार हुनु जरुरी छ, ’ उनले भने ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्