Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण कार्यशाला

बुधबार, पुस २०, २०७९

काठमाडौँ – स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मंगलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ ।


 
परम्परागतरूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

 

शैक्षिक मूल्यांकनलाई खास स्तरको मापदण्डमा पुर्‍याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउन स्तरीय परीक्षा प्रश्न निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले स्तरीय परीक्षा आगामी वर्षदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

 

यसका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरी ७५३ स्थानीय तहका शिक्षकलाई तालिम नै प्रदान गरिने योजना छ ।

 

स्तरीय परीक्षण निर्माणमा विज्ञको समूहबाट प्रश्नपत्र निर्माण, सुधार, पूर्वपरीक्षण, उपयुक्त प्रश्न छनोट, प्रश्न बैंक निर्माण, समरूप परीक्षण तथा परीक्षा सञ्चालनजस्ता कुरा पर्छन् ।

 

स्तरीय परीक्षामा निर्माण गरिएका प्रश्न वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्यामप्रसाद आचार्यले बताए । उनले वैधता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्र प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताए ।


 
कार्यशालामा सहभागी ३३ जिल्लाका अङ्ग्रेजी, गणित र विज्ञान विषयका १-१ जना प्रशिक्षकको उपस्थिति रहेकामा बाग्मती प्रदेशका १३, गण्डकीका ११, लम्बिनीका ६, मधेस प्रदेशका ३ जिल्लाका प्रशिक्षक सहभागी छन् ।

 

३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा अङ्ग्रेजी विषयमा डा. टीकाराम भट्ट र पर्शुराम तिवारी, गणित विषयमा रमेशप्रसाद अवस्थी तथा विज्ञान विषयमा जयप्रकाशलाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिने छन् । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्