Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि बढ्यो कोरोना त्रास, डराउनुनपर्ने दिन कहिले आउँछ ?

बुधबार, पुस २०, २०७९

काठमाडौँ – १ महिनायता जापान, दक्षिण कोरिया र चीनमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएको छ । यी देशमा फैलिएको कोरोनाको संक्रमण एसियाका अन्य देशमा समेत देखिन थालेको छ । 

 

कोरोना भाइरस संक्रमण वृद्धिसँगै आममानिसमा पुनः लकडाउनको अवस्था सिर्जना हुन सक्छ कि भन्ने त्रास बढेको छ । तर यसबाट खासै डराउनुनपर्ने चिकित्सकहरू बताउँछन् । 

 

हाल देखिएको बिएफ.७ नामक नयाँ भेरियन्ट कति घातक छ भनेर हालसम्म पुष्टि भइसकेको छैन । त्यसैले यसको असरबारे अहिले नै निर्णय गर्न नसकिने विज्ञहरुको भनाइ छ ।

 

नेपाल सरकारको अधिकारिक तथ्यांकअनुसार हालसम्म नेपालमा बिएफ.७ काे संक्रमण पुष्टि नभएका कारण यसबाट डराउनुपर्ने अवस्था नरहेको स्वास्थ्या सेवा विभागका डाक्टर अनुप बास्तोला बताउँछन् । तर यसको मतलब कोरोनालाई हल्का रूपमा लिन नहुने उनको भनाइ छ ।

 

पछिल्लो समय नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक प्रतिशतभन्दा कम छ । संक्रमण र मुत्यृदर लगातार कम भएसँगै हाल सरकारले कस्ता प्रकारका भेरियन्ट देखापर्छन् अथाव कस्ता बिरामी आउँछन् भन्नेबारेमा  सर्वेक्षण गरिरहेको उनले बताए ।   

 

नेपालमा खोप अभियन सुरु भएयता प्राइमरी सिरिज (दुइटा खोप लगाउने) मानिसको संख्या करिब ८२ प्रतिशत छ । तर अझै थप मानिसले खोप लगाउन वास्ता नगर्ने गरेको उनको भनाइ छ ।

 

१४ मे २०२२ देखि हालसम्मको तथ्यांकअनुसार कोभिडका कारण ज्यान गुमाउनेमध्ये करिब ७७ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको डा. बाँस्तोलाले बताए ।

 

सरकारले विभिन्न उमेर समूहका लागि भनेर खोप उपलब्ध गराए पनि आमसर्वासाधरणले त्यसको बेवास्ता गर्ने गरेको उनको भनाइ छ ।  

 

कोरोना भाइरसका विभिन्न भेरियन्टहरू देखापर्ने क्रम जारी रहेकाले संक्रमणमुक्त अवस्था कहिलेसम्म आउँछ भन्नेबारे यकिन रुपमा भन्न नसकिने डा. बाँस्तोलाले जानकारी दिए । त्यस्तै हाल जाडो महिनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने सिजनल फ्लु पनि हुने भएकाले परीक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए ।  

 

छिमेकी मुलुक भारतलगायत अन्य देशमा यसको संक्रमण बढ्न थालेपछि नेपालमा पनि यसको प्रभाव पर्ने भएकाले सम्बन्धित निकायले सुरक्षाको व्यावस्थापनमा कडाइ गरिनुपर्ने डा. बाँस्तोलाले बताए । कोरोना भाइरसकाे संक्रमण नेपालमा उच्च विन्दुमा पुगेको समयमा डा. बाँस्तोला टेकु अस्पतालका निर्देशक थिए ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्