चिसाे धेरै बढेपछि ३ दिन विद्यालय बन्द
सिरहा- सिरहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । ३-४ दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेकाे हाे ।
अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरू बताउँछन् ।
अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय तहहरूले विद्यालयमा पनि बिदा दिन थालेका छन् । जिल्लाको मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतका पालिकाले १९ देखि २२ पुससम्म ३ दिनका लागि विद्यालय बन्द गरेका हुन् ।
शीतलहरका कारण सिरहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिएको छ ।
उनले चिसोले बालबालिकाको नियमित पठनपाठनमा हुने असहजतालाई मध्यनजर गरी विद्यालय बन्द गरिएको बताए ।
२ दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरूले ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए ।
जिल्लाका अधिकांश पालिकाले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा ३ दिनको बिदा दिएका छन् ।
सोमबार बिहानदेखि बाक्लो हुस्सु र चिसाे सिरेटाेले एकाएक चिसो बढेको छ। चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भएका छन् । बाक्लो हुस्सुकै कारण सिरहाबाट बिहानै चल्ने सार्वजानिक सवारीसाधनसमेत प्रभावित भएका छन् ।
चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घरबाहिर ननिस्किँदा सिरहाबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसधानमा यात्रुको संख्या घटेकाे छ । तराई मधेसका जिल्लाहरूमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ ।
सिरहाका गाउँघरमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ । गाउँघरमा अहिले गुइँठा, दाउरा र परालकाे आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन् ।
चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन् ।