अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री प्रचण्डद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल
काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग छलफल गरेका हुन् ।
देशको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले पछिल्लो समयमा देखिएका आर्थिक समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै, प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।