Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस प्रवक्ताको जोगिने तर्कः आलोचनाबाट बच्न खोज्दा सत्ता गुम्यो

बुधबार, पुस २०, २०७९

काठमाडौँ– नेपाली कांग्रेसले सार्वजनिक आलोचनाबाट बच्ने प्रयास गर्दा केन्द्र र प्रदेशको सरकारबाट विमुख हुनुपरेको दावी गरेको छ ।

 

बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकारसम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले प्रमुख पदहरू तेस्रो दललाई दिँदा कांग्रेसको सार्वजनिक आलोचना हुने भएकाले नदिएको र गठबन्धन भत्किएको दावी गरे ।

 

‘अहिले थुप्रै आवाजहरु आएका छन् । पार्टी नेतृत्व र पार्टीका अन्य नेताहरुलाई दोष थुपारिएको छ । तर, हामीले प्रचण्डलाई प्रधानमन्त्री छाडेको भए पनि आलोचना हुन्थ्यो’, महतले भने, ‘तेस्रो दललाई किन प्रधानमन्त्री दिएको भनिन्थ्यो । आलोचना नहोस् भन्नेगरी अगाडि बढेका थियौँ ।’

 

निर्वाचनबाट संसदको पहिलो दल बनेको कांग्रेस अहिले सत्ताबाट पूर्णरुपमा विमुख छ । तर, कांग्रेस नेतृत्व भने पार्टीलाई भएको क्षतिको आत्मसमीक्षा गर्न तत्पर देखिएको छैन । बरू तत्कालिन गठबन्धनमा रहेका दलहरुलाई दोष देखाएर आफू चोखिने प्रयत्नमा कांग्रेसका नेताहरू छन् ।

 

सरकारको नेतृत्व नपाएको अवस्थामा प्रचण्डले अर्को खेमामा गएर सत्ताको नेतृत्व लिने जगजाहेरै थियो । तर, कांग्रेस नेतृत्वको राजनीतिक चाल भने गठबन्धनका अन्य दललाई मान भाउ नै नदिने प्रकृतिको देखियो ।

 

२०७४ को स्थानीय तहको चुनावमा पनि कांग्रेससँग सहकार्य गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदीय चुनावमा मोर्चा फेरेका थिए । त्यो अनुभवबाट कांग्रेसले यसपटक पाठ सिकेको देखिएन ।

 

‘प्रधानमन्त्री बन्नकै लागि गठबन्धन तोड्दिँन भनेर प्रचण्डले नै भन्नुुभएको थियो ।  हामी उहाँको भरमा प¥यौँ । अर्को बाटोको बारेमा सोचेनौँ । उहाँले धोका दिनुहोला भन्ने लागेकै थिएन’, महतले निरिहता दर्शाए ।

 

निर्वाचनकै बेला कांग्रेसका कतिपय नेता कार्यकर्ताले माओवादी केन्द्रसँग गठबन्धन गर्न नहुने सुुझाव दिएका थिए । तर, नेतृत्वले त्यसलाई बेवास्ता ग¥यो । गठबन्धनको विरोध गर्ने कार्यकर्तामाथि कारबाहीको डण्डा देखाइएको थियो ।

 

कांग्रेस राजनीतिक दुर्घटनामा परेको सम्बन्धमा कार्यकर्ताले नेतृत्वसँग प्रस्टिकरण मागिरहेका छन् । तर, नेतृत्व भने केन्द्रीय कार्यसमितिको बैठक सारेर बसिरहेको छ । कांग्रेसका एक केन्द्रीय सदस्य भने पार्टी नेतृत्वले कार्यकर्तालाई जवाफ दिन नसकेर बैठक राख्न आलटाल गरिरहेको आरोप लगाउँछन् । 

 

‘प्रचण्डको स्वभाव पहिल्यै थाहा थियो । नेतृत्वले विचार पुर्‍याउनु पथ्र्यो । अहिले धोका भयो भन्न मिल्दैन’, ती केन्द्रीय सदस्यले भने ।

 

गठबन्धन भत्किएपछि नेतृत्वले नेता, कार्यकर्ता र मतदातालाई स्पष्टिकरण दिनु पर्नेमा १० दिनपछि औपचारिकताका लागि मात्रै पत्रकार सम्मलेन गरेको उनले आरोप लगाए । कांग्रेसका नेताहरु भने प्रचण्डले कांग्रेसको आन्तरिक कलह थाहा पाएकै त्यसको फाइदा उठाएको ती केन्द्रीय सदस्यको भनाई छ ।

 

‘हाम्रो भित्रको समस्याका बारेमा उहाँले राम्रोसँग बुझ्नुभयो । त्यसको फाइदा उठाउनुभयो । आन्तरिक एकता मजबुद भएको भए प्रतिनिधिसभामा पहिलो भएको पार्टीका विरुद्ध अर्को गठबन्धन तयार हुने नै थिएन्,’ ती केन्द्रीय सदस्यले थपे ।

 

पार्टी प्रवक्ता महत पनि त्यो विषयलाई बल पुग्ने गरी पार्टी भित्रका साथीहरु नेतृत्वको आलोचना गर्न खनिने भन्दै प्रस्ट्याउँदै थिए । ‘नेतृत्वको मात्र आलोचना गरिरहेका हुन्छौँ । पार्टीले पद छोड्दा पनि साथीहरु त्यतिकै आलोचना गर्नु हुन्थ्यो होला । पद नछोड्दा सत्ता गुम्दा पनि त्यस्तै आलोचना भइरहेको छ ।’

 

प्रवक्ता महतले भने अहिलेको सरकारको आयुु लामो नभएको दावी गर्छन् । ‘राजावादी, गणतन्त्रवादीलगायतका अलग अलग विचार, सिद्धान्त र इतिहास भएका पार्टीले सत्तालाई मात्र स्वार्थमा राखेर गठबन्धन गरेका छन् । यो गठबन्धन अप्राकृतिक छ । यसको आयु लामो छैन,’ महतले भने ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १९:४२
प्रतिक्रिया दिनुहोस्