Nic Ad Nic Ad
Nic Ad Nic Ad

आहा! राराको फाइनलमा साविक विजेता सङ्कटा

बुधबार, पुस २०, २०७९

गण्डकी–साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै सङ्कटा क्लब २२औँ संस्करणको आहा! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा उत्कृष्ट जित निकाल्दै सङ्कटाले फाइनल यात्रा तय गरेको हो ।

 

सङ्कटाका लागि स्टेफन विनोङ र मेसुकेले दुई–दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका स्टेफनले ६१औँ मिनेटमा दोस्रो गोल गरे । मेसुकेले ४३ औँ र ८६औँ मिनेटमा गोल गरे । सङ्कटाका दुवै फरवार्डर क्यामरुनी हुन् । ७४औँ मिनेटमा हरी कार्कीको सान्त्वना गोलसँगै एपीएफले सङ्कटासँगको अग्रता घटाए पनि खेलमा फर्किन भने सकेन ।

 

विपक्षीलाई खेल अवधिभर दबाबमा राख्न सफल सङ्कटाका स्टेफन म्यान अफ् दि म्याच घोषित भए । सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको सङ्कटाले विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनबाट फाइनल पुग्न सफल भयो । सङ्कटा क्लबका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे ।

 

उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए । प्रशिक्षक खड्गीका अनुसार सङ्कटाका लागि यस प्रतियोगिता वर्षको पहिलो हो । घरेलु लिग फुटबलपछि उक्त टिमले कुनै पनि प्रतियोगिता खेल्न पाएको थिए ।

 

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले रक्षापङ्क्ति कमजोर हुँदा टिमले हार व्यहोर्नुपरेको स्वीकार गरे । उनले गोलको अवसर पाए पनि प्राविधिक पक्ष नमिल्दा टिम सफल हुन नसकेको बताए । विपक्षी टिममा रहेका विदेशी खेलाडीलाई गोल गर्नबाट आफ्ना खेलाडीले रोक्न नसकेको उनले उल्लेख गरे ।

 

सङ्कटाले अब बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनलका लागि बिहीबार ब्वाइज युनाइटेड र भूटानी युथ स्पोर्ट्स क्लबबीच खेल हुनेछ । फाइनल खेल शनिबार हुने प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगितका विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख पुरस्कार पाउनेछन् । –रासस

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्