नेपाल टी–२० लिग विवादः खेलकुद परिषदद्वारा छानबिन समिति गठन
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारी नेपाल टी–२० लिग क्रिकेटमा देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ।
बुधबार बसेको परिषद्को कार्यकारी समितिको बैठकले परिषद्का कार्यकारी समिति सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो।
कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
विदेशी खेलाडीको श्रमस्वीकृति र प्रतियोगिता सञ्चालनको सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत राखेपले विज्ञप्तिमा जनाएको छ।
राखेपले कार्यदललाई सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।