प्रधानमन्त्रीले दिए पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार उद्योग सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।
मूल्य प्रतिलटर वा प्रतिसिलिण्डर के कति मात्रामा घट्ने हो त्यसबारे केही खुलाइएको छैन ।
पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ । अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको छ ।