विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : अध्यक्ष गोल्छा
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनीमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स,निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् ।
उनले सरकारले रेमिट्यान्स भित्र्याउने,नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका ३ वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए ।
उनले अर्थतन्त्रको ३ वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे । अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।
उनले बैंकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको बताए । उनले अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए ।
अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठुलो चुनौती भएको उल्लेख गरे ।
उनले सरकारले निर्यात प्रोत्साहनका लागि नगद अनुदानको व्यवस्था गरे पनि निर्यातकर्ताहरूले सहज रूपमा पाउन नसकेको गुनासो गरे ।
अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुइङ बिजनेस बढिरहेकाले नेपाली निर्यातजन्य वस्तुहरूलाई प्रतिस्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रूपमा पाउनको लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ । खास गरेर बैंकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्रको यो स्थिति आएको हो । विदेशी मुद्राको आय स्रोत एउटा मात्रै भयो । ९० प्रतिशत आय रेमिट्यान्स छ । निर्यातकर्ताहरूले इन्सेन्टिभ दिनको लागि एस्पोर्ट हाउसको अवधारणा ल्याएका छौं । समग्रमा मुलुकको अर्थतन्त्र जुन विमान हो जसको एउटा मात्रै इन्जिन रेमिट्यान्स चलेको छ । अर्को इन्जिन निर्यात हुनसक्छ । सबैले निर्यात अनुदान पाउनुपर्छ । हाम्रो मौलिक वस्तुहरूको निर्यातलाई प्रोत्साहन गर्न जरुरी छ ।’
निर्यात परिषद्ले २५औँ वार्षिक साधारणसभा तथा निर्यात दिवसको अवसरमा २ दिने नेपाली निर्यातजन्य वस्तुहरूको प्रदर्शनी काठमाडौँको ठमेलमा रहेको छाया सेन्टरमा सुरु गरेको छ । प्रदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्टल राखिएको छ ।