भृकुटीमण्डपमा फुटवेयर औद्योगिक मेला सुरु
काठमाडौँ –नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । ३ दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उद्घाटन गरिन् ।
जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल १७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेले अनुसार ३ दिने मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।
नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या १ हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल ५ करोड जोर उत्पादन गदै आएको बताए । यस क्षेत्रमा ३० अर्ब रुपैयाभन्दा बढीको लगानी र ४ अर्ब रुपैयाभन्दा बढी बैंक कर्जा रहेको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ ।
उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् ।