Nic Ad Nic Ad
Nic Ad Nic Ad

नुवाकोटमा बजेट कार्यान्वयन निराशाजनक

शुक्रबार, पुस २२, २०७९

काठमाडौँ – पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका ४५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गरेको छ ।

 

चालू आवमा करिब २ अर्ब बजेट प्राप्त भएर साढे चार सय योजना कार्यान्वयन गराउनुपर्नेमा २२ करोड अर्थात् १२ प्रतिशत मात्रै खर्च भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए। उनका अनुसार केही उपभोक्ता समितिमार्फत योजना पूरा भएको छ भने अधिकांश योजना कार्यान्वयनको चरणमा रहेकाले प्रगति निराश देखिएको हो ।

 

‘आर्थिक वर्षको सुरुआतको समयमा निरन्तरको वर्षा, त्यसलगत्तै चाडपर्व, चुनावी गतिविधि र आचारसंहिताको कारण कामलाई गति दिन समस्या भयो अधिकांश योजना उपभोक्ता समितिमार्फत गर्नुपर्ने भएकाले उनीहरुमा चासो कम र कार्यालयमा न्यून कर्मचारी भएका कारण लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकिएन’ उनले भने । 

 

सडकसहित पक्की र झोलुङ्गे पुल निर्माणका लागि कार्यान्वयनमा रहेका तेह्रवटा बहुवर्षीयसहित थप आएकासमेत ४५६ योजनाका लागि चालू आवमा १ अर्ब ९५ करोड बजेट कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी कार्यालयको थियो ।

 

उक्त बजेट तथा योजनामध्ये केही धादिङको योजनासमेत समावेश भएको र केही सडकको दायित्व सडक डिभिजन नुवाकोटतर्फ स्थानन्तरण भएसँगै कार्यालयले यो वर्ष नुवाकोट र रसुवामा १अर्ब ८४ करोड ५० लाख बजेट कार्यान्वयनको जिम्मेवारी पाएको छ ।

 

प्रादेशिक कार्यालय भए पनि पूर्वाधार विकास कार्यालयले सङ्घीय ससर्त अनुदानको बजेट कार्यान्वयनदेखि स्थानीयतहसँगको साझेदारीमा उपभोक्ता समितिमार्फत समेत साझेदारी गर्दै आइरहेको छ ।

 

कार्यालयको कूल योजना ४५६ मध्ये तीन सय ५० भन्दा बढी ५० लाखभन्दा कम बजेट भएकाले उपभोक्ता समितिमार्फत काम गराउन लागिएको हो । नुवाकोट र रसुवाका लागि ससाना लागतको सडक निर्माण तथा स्तरोन्नतिसहित पक्की र झोलुङ्गे पुलको निर्माण एवम् मर्मतसम्भार कायालयको कार्यक्षेत्रमा पर्दछ । 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्