Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरभन्दा पनि अग्ला युवक

घानाका एक युवक जसको उचाइ निरन्तर बढिरहेको छ
शनिबार, पुस २३, २०७९

काठमाडौँ–उत्तरी घानास्थित एउटा अस्पतालमा जचाउन जाँदा २९ वर्षीय सुलेमाना अब्दुल समेदलाई उनी साढे ९ फिट अग्लो भएको बताइयो ।


त्यो उचाइ विश्वकै सबैभन्दा अग्लो व्यक्तिको कीर्तिमानका लागि पर्याप्त थियो । तर ग्रामीण भेगमा रहेको क्लिनिकसँग उनको उचाइ नाप्न भरपर्दो उपकरण थिएन । 


केही वर्षअघि ‘जाइग्यान्टिजम’ भनिने रोग लागेको थाहा पाएसँगै उनले प्रत्येक महिना चिकित्सकलाई जचाउँदै आएका छन् । अउचे उपनामबाट चिनिने उनी आफ्ना कारण उत्पन्न परिस्थिति देखेर छक्क परे ।


आफ्नो उचाइ बढेको सुन्दा उनलाई अनौठो लागेन किनभने उनी बढ्ने क्रम कहिल्यै रोकिएको थिएन । तर अस्पतालका कर्मचारीहरूका लागि त्यो अनपेक्षित थियो र उनीहरू विस्मित थिए ।

 


सुलेमाना अब्दुल समेद आफ्ना दाइसँग बस्छन् । छरछिमेकमा रहेका अधिकांश घरभन्दा उनीभन्दा होचा छन् ।


विश्वमा सबैभन्दा अग्ला जीवित व्यक्तिको कद ८ फिट २.८ इन्च छ । ती व्यक्ति उनीभन्दा झन्डै एक फुट अग्ला छन् ।


टर्कीमा बस्ने ४० वर्षीय सुल्तान त्यति अग्ला छन् । उनको यो कीर्तिमान गिनिज वल्र्ड रेकर्डमा अभिलिखित छ ।


‘तीन–चार महिनामा मेरो कद बढेको हुन्छ । यदि तपाईँले मलाई तीन–चार महिना भेट्नुभएन र एकैपटक त्यसपछि देख्नुभयो भने मेरो कद बढेको थाहा पाउनुहुन्छ,’ अउचे भन्छन् ।


राजधानी आक्रामा बस्दा आफ्नो कद धेरै बढेको उनले महसुस गर्न थालेका थिए । त्यतिबेला उनी २२ वर्षका थिए ।

 

माध्यमिक शिक्षा पूरा गरेपछि अउचे आफ्ना दाजुहरूसँग बस्न आक्रा गएका थिए । गाडी चलाउन सिक्ने उनको योजना थियो। त्यसका लागि पैसा जोहो गर्न उनले मासुपसलमा काम गरे ।


एक दिन बिहान उठ्दा उनी छक्क परे । ‘मलाई जिब्रो निकै ठूलो भए जस्तो लाग्यो – यति ठूलो कि मैले (राम्ररी) सास फेर्न सकिरहेको थिइनँ’, उनी भन्छन् ।


त्यसपछि उपचार खोज्न उनी एउटा स्थानीय औषधि पसलमा पुगे । त्यसको केही दिनपछि आफ्ना सबै अङ्ग बढिरहेको उनले थाहा पाए ।


उचाइ निरन्तर बढिरहँदा उनमा अरू समस्याहरू पनि देखा पर्न थाले । उनलाई उपचार चाहिन्छ भन्ने अनुभूति भयो ।
उनको मेरुदण्ड अस्वाभाविक रूपमा बाङ्गिएको छ । उनी ‘मार्फन सिन्ड्रोम’ बाट पीडित छन् । यो एक प्रकारको आनुवंशिक समस्या हो र यसले शरीरको ‘कनेक्टिभ टिशू’ अर्थात् संयोजी तन्तुमा प्रभाव पार्छ ।

 

 

यसले गर्दा खुट्टा अस्वाभाविक रूपमा लामो हुन्छ । यो समस्या गम्भीर बन्दा मुटु बिग्रिन पनि सक्छ ।


उनको शरीरमा भइरहेको वृद्धिलाई रोक्न मस्तिष्कको शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले औँल्याएका छन् ।


तर घानाको स्वास्थ्य बीमाले उक्त उपचारका लागि लाग्ने खर्च धान्दैन । प्रत्येक पटक अस्पताल जानका लागि उनले कम्तीमा ५० डलरको जोहो गर्नुपर्ने हुन्छ ।


स्वास्थ्य समस्याका कारण सवारीचालक बन्ने आफ्नो सपना त्याग्दै छ वर्षअघि उनी गाउँ फर्किए ।


अहिले उनी आफ्ना एक दाजुसँग बस्छन् । आफ्नो जीविकोपार्जनका लागि उनले मोबाइल फोन रिचार्ज गरिदिने एउटा सानो पसल खोलेका छन् ।


शारीरिक अवस्थाले उनको सामाजिक जीवनमा पनि प्रभाव पारेको छ ।


तर अउचे यी समस्याका कारण हार मानेका छैनन् । मानिसहरूले बोलाउँदा उनी प्रसन्न हुन्छ ।


एक प्रकारले उनी स्थानीय ‘सलेब्रटी’ बनेका छन् । बाटोमा निस्किँदा बालबालिकाले उनलाई हात हल्लाउँदै बोलाउँछन्, केही महिलाले उनलाई अङ्कमाल गर्दै ठट्टा गर्छन् ।


केही मानिस उनीसँग सेल्फी लिन चाहन्छन् । सामाजिक सञ्जालमा उनको तस्बिर देखेकाले अपरिचित व्यक्तिहरू पनि उनीसँग फोटो खिच्न अघि सर्छन् ।


अउचे बिहे गर्न र छोराछोरी पाउन चाहन्छन् । तर त्यसअघि पहिला आफ्नो स्वास्थ्य ठिक हुनुपर्छ भन्ने उनलाई थाहा छ ।
खुट्टा निकै लामो हुँदा उनी छालाको समस्याबाट पीडित भएका छन् । उपचार गर्न प्लास्टिक सर्जरी गर्नुपर्ने भएको छ । त्यसका लागि उनी पैसा जम्मा गर्ने विचारमा छन् ।

बीबीसीबाट

 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्