तीस लाख प्लास्टिकका बोतलको कला प्रदर्शनी
बङ्गलादेश– बङ्गलादेश युवा सङ्गठनले प्लाष्टिक प्रदूषणविरुद्ध चेतना जगाउन ‘सेभ अर्थ, सेभ बङ्गलादेश’ भन्ने नाराका ३० लाखभन्दा बढी प्लास्टिकका बोतलको कला प्रदर्शनी आयोजना गरेको छ ।
विगत ३२ दिनदेखि यहाँ जारी रहने प्रदर्शनीमा प्लाष्टिकका बोतल, पोलिथिन, चिप्सका प्याकेट र सिगरेट फिल्टरबाट बनेका तस्बिर तथा मूर्ति समावेश गरिएको छ । ढाकामा रहेको युवा सङ्गठन ‘बीडी क्लिन’ले लामो समयदेखि राजधानी ढाका र बङ्गलादेशका अन्य ठाउँमा प्लास्टिक फोहोर सफा गर्दै आएको छ ।
प्लास्टिक र रासायनिक प्रदूषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको बिडी क्लिनका संयोजक मसुदुर रहमानले बताएका छन् । प्रदर्शनीको तयारीका लागि बिडी क्लिनका सदस्यले डेढ महिनाभन्दा बढी समयदेखि देशका विभिन्न स्थानबाट प्लास्टिक सङ्कलन गरेकोे बताए । उनीहरूले निजी खर्चमा फोहोर सङ्लन गरी यातायातका विभिन्न माध्यमबाट ढाकासम्म ल्याएका जानकारी दिए ।
दैनिक हजारौँ दर्शक प्रदर्शनीमा आएका तथा उनीहरू प्रस्तुत चित्रबाट आल्हादित भएका आयोजक संस्थाले बताएको छ । केही आगन्तुकले अब उप्रान्त प्लाष्टिक प्रयोग नगर्र्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वातावरण संरक्षणका खातिर प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।