Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोरोनाका कारण बन्द गरिएको हाटबजार पुनः सञ्चालनमा

शनिबार, पुस २३, २०७९

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ ।

 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्ने क्रममा नेपाल सरकारको निर्देशनमा बन्द गरिएको साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको हो ।

 

गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा हरेक शुक्रबार लाग्ने हाटबजार कोरोनाका कारण करिब दुई वर्ष बन्द भएको थियो । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण गर्दै उनीहरूको आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले विसं २०७७ पुस १० गतेदेखि हरमटारमा हाटबजार सञ्चालनमा ल्याएको थियो ।

 

कोरोना भाइरसको महामारी फैलिएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्देशनानुसार हाटबजार बन्द गरिएको थियो । विसं २०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, घरेलु तथा साना उद्योग महासङ्घ, नागरिक समाज, अगुवा कृषकलगायतको समन्वय बैठकको निर्णयानुसार बन्द रहेको हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाको केन्द्र हरमटारमा साप्ताहिक हाटबजार सञ्चालनमा आएपछि विशेषगरी सागसब्जी, फलफूल, दाल, अन्न, पशुपक्षी, कपडालगायतका वस्तुको किनबेच सुरु भएको छ । बन्द रहेको लामो समयपछि हाटबजार पुनः सञ्चालन हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् ।

 

हरमटारको हाटबजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) का युवानेता राजन मगरले बताए । छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसब्जी उत्पादनका लागि चर्चित छ ।

 

गाउँपालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापन गर्न हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए।

 

“रावाबेँसीमा धेरै कृषि उपजहरू उत्पादन हुन्छन् तर बजारीकरणको समस्या छ”, उनले भने, “कृषकको सहजताका लागि बन्द रहेको हाटलाई पुनः सञ्चालनमा ल्याइएको हो । आगामी दिनमा कृषि पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउँदै पालिकाभित्र हुने आयातलाई कम गर्ने योजनासमेत बनाइएको छ ।”

 

खानेतेल आयातलाई रोक्न गाउँपालिकाले तोरी उत्पादनका लागि कृषकलाई बीउ उपलब्ध गराएको छ । आगामी दिनमा गुन्द्रक, भुजा, अचारलगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी गाउँसभाबाटै कार्यक्रम पारित गरेर सञ्चालन गरिएको कृषि शाखा प्रमुख मुगाधन राईले बताए। 

 

पहिलो चरणमा एक हजार दुई सय ६० केजी तोरीको बीउ खरिद गरेर कृषकलाई वितरण गरिएको जनाइएको छ । तोरी पेल्नका लागि गाउँपालिकाले हरेक टोलमा विद्युतीय मिलसमेत उपलब्ध गराउने गाउँपालिका प्रमुख श्रेष्ठले बताए। स्थापनाकालको करिब तीन महिना सञ्चालन भएको हाटबजार बन्द भएपछि सो स्थानमा गाउँपालिकाले कोरोना सङ्क्रमित राख्नका लागि क्वारेन्टिन बनाएको थियो । 

 

गाउँपालिकाभित्रका किसानलाई लक्षित गर्दैै हरमटारमा चिस्यान केन्द्रसमेत निर्माण सुरु गरिएको छ । हटियामा बिक्री नभएका कृषि उपज भण्डार गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्