Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘अनुप स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

आइतबार, पुस २४, २०७९

काठमाडौँ –  ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी)लाई २–० ले पराजित गर्दै नेर्पाले उपाधि जितेको हो ।

यसअघि सञ्चालन भएको दोस्रो संस्करणको उपाधि पनि नेर्पाले जितेको थियो । खेलको सुरुदेखि नै बल आफ्नो पक्षमा राखेको नेर्पाले गोल भने अन्तिम समयमा गर्न सफल भयो । दुवै गोल अन्तिम समयमा भएको हो ।

उपाधि विजेता नेर्पाले नगद २ लाख ५१ हजारको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उपविजेता डिएफसीले नगद १ लाख ११ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले पुरस्कार वितरण गरेका थिए । 

सेमिफाइनलिष्ट चियाबारी फुटबल क्लब इलाम र मानेभन्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गाले नगद २५–२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

खेलको विद्यागततर्फ उत्कृष्ट गोलरक्षक (डिएफसी)का सन्दीप लिम्बू, उत्कृष्ट डिफेन्स (डिएफसी)कै टेकेन रानामगर,  उत्कृष्ट मिडफिल्डर (डिएफसी)का विशाल तामाङ, उत्कृष्ट स्ट्राइकर नेर्पाका बिजु भुजेल, योङगेष्ट प्लेअर अफ द टुर्नामेण्ट दिक्तेलका भूषण ताम्राकार घोषित भएका छन् ।

यस्तै सर्वाधिक गोलकर्ता नेर्पाका बिकी राई, खेलभरिकै उत्कृष्ट खेलाडी (डिएफसी)का मनिष लिम्बू, उत्कृष्ट टिम प्रशिक्षक नेर्पाका बिरेन गुरुङ र अनुशासित टिमको उपाधि (डिएफसी)लाई प्रदान गरिएको छ । विद्यागत उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र टिमले जनही नगद ५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

माउण्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सहआयोजनामा पुस १७ गतेबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा खोटाङका विभिन्न सातवटा क्लब तथा ओखलढुङ्गा, सुनसरी र इलाम जिल्लाका खेलाडीको सहभागिता थियो । 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०६:५०
प्रतिक्रिया दिनुहोस्