Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय किताबखानाद्वारा ई–पेन्सन अवधारणा सुरु

आइतबार, पुस २४, २०७९

काठमाडौँ- राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ ।

 

ललितपुरबाट १ महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम जिल्लाबाट पनि पेन्सनपट्टाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

 

सूचना प्रविधिप्रतिको बढ्दो आकर्षण र सेवालाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने सिलसिलामा ई–पेन्सनको अवधारणा अघि सारिएको किताबखानाका निमित्त महानिर्देशक संगीता ओझाले जानकारी दिइन् ।

 

उक्त अवधारणाले पेन्सनपट्टाका लागि दूरदराजबाट राजधानी आएर अनेकथरि कागजात संकलन गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ । किताबखानाले निजामती, शिक्षक र प्रहरीको नियुक्तिदेखि अवकाश हुँदासम्मको सम्पूर्ण अभिलेख राख्दै आएको छ । निजामती सेवा ऐन तथा नियमावलीले २० वर्ष बढी सेवावधि पूरा गरेकालाई पेन्सन तथा त्योभन्दा कम अवधि हुनेलाई उपदान पाउने व्यवस्था गरेको छ ।

 

किताबखानाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ७८५ कर्मचारीले निवृत्तिभरण लिएका थिए । हालसम्म ८८ हजार निजामतीतर्फका कर्मचारी सेवानिवृत्त भएको अभिलेखबाट देखिन्छ ।

 

राष्ट्रिय किताबखाना मुलुकको शासनको स्थायी सरकारको रूपमा रहेको सार्वजनिक प्रशासनअन्तर्गतका पदाधिकारीको अभिलेख व्यवस्थापन गर्ने यो महत्वपूर्ण निकाय हो । उक्त कार्यालय मातहत निजामती कर्मचारी, शिक्षक र प्रहरी कर्मचारीको समेत अभिलेख व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्