मलेसियामा २८ जना नेपाली कामदार अलपत्र (भिडियोसहित)
काठमाडौँ– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ जना युवा अलपत्र परेका छन् । खोजी म्यानपावर प्रालिले उनीहरूलाई २ महिनाअघि मलेसियाको चिकेन डोप्स कम्पनीमा रोजगारीका लागि पठाएको थियो ।
म्यानपावरले भनिएजस्तो र सुविधा नदिएपछि उनीहरू अहिले कामविहीन भएर अलपत्र परेका हुन् ।
रोजगारीका लागि गएका कामदारहरूले प्रतिकामदार २ देखि ३ लाख रुपैयाँसम्म म्यानपावर कम्पनीलाई बुझाएको उनीहरूले भिडियोमा बताएका छन् ।
कम्पनीका मालिकले एकजना कामदारलाई हातपात गरेको र पछि उनीहरूलाई कम्पनीबाट बाहिर लगेर बन्धकसमेत बनाएको कामदारले जानकारी दिएका छन् ।
बन्धक बनाएर केही कामदारलाई चिनियाँ एजेन्टले बारम्बार कुटपिटसमेत गरेको पीडितहरूले गुनासो गरेका छन् । कम्पनीका मालिकले बारम्बार यातना दिएको र धेरै पटक कुटपिट गरेको पीडित कामदार हिरालाल यादवले जानकारी दिए ।
मलेसियाको कम्पनीले नेपालमा भनेजस्तो तलब पनि नदिएको र काम गर्ने क्रममा बारम्बार यातना र गाली गर्ने गरेको उनले गुनासो गरेका छन् ।
नेपालबाट म्यानपावर कम्पनीले मसिक १ लाख रुपैयाँ तलब हुन्छ भनेर ३ लाख रुपैयाँ लागत खर्च लिएर पठाएको पीडित कामदार बाबुराम बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कम्पनीले काम सिकाउने भन्दै यातनासमेत दिँदै आएको छ ।
अहिले कामबाट निकालेर बाहिर एउटा कोठामा बन्धक बनाएर राखेको उनले बताए ।
‘अहिले २८ जना कामदारलाई एउटा कोठामा बन्धक बनाएर राखिएको छ । आज ६ दिन भयो कोठा थुनेर राखेको छ । राम्रो खान समेत दिएको छैन’, उनले भने, ‘अहिले घर जान्छौँ भन्दा हप्काइ–दप्काइ गर्छ । तिमीहरूलाई जेल हाल्छु भनेर धम्की दिइरहेको छ । हामीले मलेसियामा रहेको दूतावासमा पनि सम्पर्क गर्न पाएका छनौँ ।’
अहिले २८ जना कामदारले नै स्वदेश फर्किनका लागि सरकार र सम्बन्धित निकायसँग गुहार मागेका छन् । तर, म्यानपावर सञ्चालक अमित शाह मलेसियामा भएका कारण म्यानपावरका अन्य कर्मचारीहरूले यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।
हेर्नुहोस् भिडियो